दश दिनपछि प्रधानमन्त्री कप भलिबल

नेपालगञ्ज – प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैठौ संस्करण फाल्गुन १८ देखि २२ गतेसम्म हुने भएको छ ।
छैठौ संस्करणमा नेपाल, भारत, बंगलादेश, श्रीलंका र मालदिभ्सका शीर्ष क्लवलाई ल्याउने तयारी गरिएको छ । यसअघिका संस्करणमा नेपाल, भारत र बंगलादेशका टीमले प्रतिस्पर्धा गरिसकेका छन् । बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले यसपाली श्रीलंका र मालदिभ्सलाई जोड्ने प्रयासमा रहेको बताउनुभयो ।
प्रधानमन्त्री महिला भलिबल प्रतियोगितामा दुई लाख, उपविजेतालाई एक लाख र तृतिय हुनेलाई ५० हजार रुपैया पुरस्कार राखिएको छ । विभिन्न विधाका उत्कृष्टलाई नगद पुरस्कार दिइने संघले जनाएको छ ।
संघका अध्यक्ष ठकुरीले प्रधानमन्त्री कपलाई दक्षिण एशियाकै नम्बर एक प्रतियोगिताको रुपमा स्थापित गर्न यस वर्षदेखि समाजका प्रतिष्ठित व्यक्तित्वहरुलाई मूल आयोजक समितिमा राखिएको बताउनुभयो । त्यसै अनुसार प्रदेश सांसद कृष्णा केसीको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।
एक सातासम्म चल्ने प्रतियोगितामा नेपाली तथा विदेशी टीमका खेलाडी तथा अफिसियलहरुलाई आवास, भोजन र यातायातको सुविधा आयोजकले नै व्यहोर्नेछन् । प्रतियोगिताको खची ३० लाख हुने अनुमान गरिएको छ ।
दक्षिण एशियाली खेलकुद (साग) मा रजत पदक जित्ने नेपाली राष्ट्रिय टीमका सम्पूर्ण खेलाडीहरु नेपाल पुलिस क्लव, नेपाल एपीएफ क्लव, नेपाली सेना, न्यू डायमण्डबाट सहभागिता जनाउने आयोजकले बताएका छन् ।
मूल आयोजक समितिका संयोजक प्रदेश सांसद केसीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको उद्घाटनमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो । प्रतियोगितामा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, सामाजिक विकास मन्त्री सुदर्शन बराललाई आमन्त्रण गरिएको छ ।
प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिस क्लव, दोस्रोमा नेपाल एपीएफ क्लव, तेस्रो र चौथोमा भारतीय रेलवे टीम र पाँचौ संस्करणमा नेपाल एपीएफ क्लवले उपाधी जितेका थिए ।
भलिबल नेपालको राष्ट्रिय खेल हो । राष्ट्रिय खेल तथा महिला सशक्तिकरणसँग जोडिएको प्रधानमन्त्री कपले देश विदेशमा नेपालगञ्ज, बाँके जिल्ला र समग्र प्रदेश नम्बर ५ लाई चिनाउने, खेल पर्यटनमार्फत ठाउँको प्रवद्र्धन गर्ने आयोजकले विश्वास गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !