मेयर राणाको ‘ड्रिम प्रोजेक्ट’ को शिलान्यास

नेपालगञ्ज – नेपालगञ्जमा गल्र्स स्कूलको भवन शिलान्यास गरिएको छ ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाको ‘ड्रिम प्रोजेक्ट’को रुपमा रहेको गल्र्स स्कूलको १८ कोठे भवनको बुधबार शिलान्यास गरिएको हो । मेयर राणाले भवनको शिलान्यास गर्दै असार मसान्तभित्र काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । ‘यो नेपालगञ्जको ठूलो प्रोजेक्ट हो । तपाईहरुले असार मसान्तभित्रै भवन बनाइदिनु होला, ठेकेदारलाई निर्देशन दिदै मेयर राणाले भन्नुभयो ।
नेपालगञ्ज–४, सल्यानीबंगलामा गल्र्स स्कूल सञ्चालन गरिएको छ । श्री आधारभूत विद्यालय, सल्यानीबंगलालाई गल्र्स स्कूलको रुपमा विकास गरिएको छ । अहिले त्यहाँ आठ कक्षासम्म पढाइ भइरहेको छ । दुई सय बढी विद्यार्थी पढ्न आइरहेको स्कूलसम्बद्ध किरण आचार्यले जानकारी दिनुभयो ।


दुई करोडको लागतमा नयाँ तीन तले भवन बनाउन थालिएको हो । भवन शिलान्यासमा वडाध्यक्ष सफिक बेहनालगायत वडा सदस्यहरुको उपस्थिति थियो ।
श्री आधारभूत विद्यालय, सल्यानीबंगला पुरानो स्कूल हो । तर, त्यहाँ विद्यार्थी धेरै थिएनन् । केही विद्यार्थीमा रहेको त्यो स्कूललाई गल्र्स स्कूलको रुपमा विकास गरिएको छ । थप नयाँ भवन बनाएर अझ व्यवस्थित गरेर अगाडि बढाउने तयारी गरिएको छ । आगामी वर्षदेखि ९ र १० कक्षा सञ्चालन गर्ने तयारीसँगै प्राविधिक शिक्षामा जोड दिने रणनीति बनाइएको छ । ‘प्राविधिक शिक्षा पढाउन सकिएमा यहाँ पढ्न आउने गरीवका छोराछोरीले चाडै जागीर पाउँछन्, आचार्यले भन्नुभयो, ९ र १० सँगै प्राविधिक शिक्षालाई अगाडि बढाउने तयारी गरेका छौं ।’
मेयर राणाको चुनावी घोषणापत्रमा समेत नेपालगञ्जमा छात्रा स्कूल र कलेज बनाउने उल्लेख गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !