नरैनापुरमा प्रशासकीय अधिकृतको स्वागत र बिदाई

नरैनापुर – बाँकेको नरैनापुर गाउँपालिकामा मणिराम खराल प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएको छ ।
खराललाई आइतबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । नरैनापुरबाट सरुवा भएर बाँकेकै राप्तीसोनारी गाउँपालिकामा जानुभएका दलबहादुर बस्नेतलाई पनि बिदाई गरिएको छ । खराल प्यूठानको ऐरावती गाउँपालिकाबाट सरुवा भएर आउनुभएको हो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त प्रयासबाट नै विकास र समृद्धि हासिल हुने भन्दै नरैनापुरको विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत खरालले जनप्रतिनिधिहरुसंग सहकार्य गरेर जनचाहना अनुसार काम गर्न प्रतिबद्ध रहने बताउनुभयो । सरुवा भएर जानुभएका बस्नेतले सबैको साथ र सहयोगले आफ्नो १८ महिने कार्यकालमा अहोरात्र खटेर काम गरेको स्मरण गर्दै नरैनापुर विस्तारै विकास पथमा लम्किँदै गरेको बताउनुभयो ।
गाउँपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख विजय यादव, शिक्षा शाखा प्रमुख लक्ष्मीकान्त मिश्र, महेन्द्र माविका मटेहियाका पूर्व प्रधानाध्यापक पेश्कार सिंह लगायतले बोल्नुभएको थियो । वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह, ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा लगायतको उपस्थिति रहेको स्वागत तथा विदाई कार्यक्रममा इन्जिनियर प्रदिपकुमार यादवलाई पनि गाउँपालिकामा स्वागत गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !