डुडुवामा बन्दै बाढीपीडित आश्रयस्थल

डुडुवा – बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवाको कृषि चौफेरीमा अत्याधुनिक आकस्मिक आश्रयस्थल निमार्ण शुरु भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास आयोजना कार्यान्वयन इकाई नेपालगञ्जले अत्याधुनिक आश्रयस्थल निमार्णका लागि जग्गा छनौट गरि नापनक्सा गरिएको छ ।
डुडुवा गाउँपालिका वार्ड नं. १ को कृषि चौफेरीस्थित आधारभुत विद्यालय नजिकै भवन निर्माणका लागि एैलानी जग्गा छनौट गरिएको गाउँपालिका अध्यक्ष नरेन्दकुमार चौधरीले बताउनुभयो । भवन निर्माण स्थलमा प्राविधिक टोलीले नापजोख समेत गरिसकेको छ । आकस्मिक आश्रय स्थल भवनमा ठूलो हल, खाद्य सामाग्री व्यवस्थापन गर्ने कोठा, प्रशासनिक कोठा, खानेपानी तथा शौचालयसहितको डेढ तले भवन निर्माण गरिने इकाई प्रमुख गणेश आचार्यले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणको टेण्डर भई १५ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भइसकेकाले फागुन महिनाको पहिलो हप्तादेखि काम शुरु हुनेछ ।
दुई करोडको लागतमा निर्माण हुने भवन बनाउने जिम्मा बर्दियास्थित यादव कन्स्ट्रक्सनले पाएको छ । भवन बनेपछि राप्ती नदी सुतिया नालाको विचमा रहेको चौफेरी, छिटइपूर्वा र पाझा गाउँका करिब २ सय घरधुरी प्रत्यक्ष लाभ लिनेछन् । बाँके जिल्ला कै सबै भन्दा बढी प्रभावित क्षेत्र अन्तर्गत रहेका गाउँका बाढी पीडितलाई बाढी, डुबान तथा कटानको बेला आकस्मिक रुपमा आश्रयस्थललाई प्रयोग गर्न सहज हुने गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रमा एकवटा मात्र रहेको सामुदायिक विद्यालयका बालबालिकालाई समेत सहयोग पुग्नेछ ।
शहरी विकास इकाईले डुडुवा गाउँपालिकाको बाढी प्रभावित क्षेत्र वडा नं. २ मा पनि आकस्मिक आश्रय स्थल निर्माण गर्ने जनाएको छ । यो सँगै गाउँपालिकाले बाढी प्रभावितहरुका लागि ४ वटा आश्रय स्थल निर्माणको कार्य गरिरहेको छ । गतवर्षदेखि निर्माण थालिएको आश्रय स्थलको पहिलो चरणको निर्माण कार्यसकिएको छ, भने दोस्रो चरणको निर्माण कार्य यो वर्ष सम्पन्न हुने गाउँपालिकाका प्राविधिक शाखाका मदनेश्वर झाले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !