अख्तियारमा अनेकथरीका उजुरी, अब नेपालगञ्जमै ल्याब

नेपालगञ्ज – अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जमा इन्जिनियरिङ ल्याब राख्ने तयारी भएको छ ।
केन्द्रमा मात्रै इन्जिनियरिङ ल्याब रहेकोमा अब नेपालगञ्जमा पनि राख्न थालिएको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो । ल्याबमा निर्माण गुणस्तर परीक्षण हुनेछ ।
नेपालगञ्ज सम्पर्क कार्यालयले बाँके, बर्दिया र दाङ जिल्लालाई हेर्ने गर्दछ । यी तीन जिल्लाबाट परेका उजुरीलाई अख्तियार नेपालगञ्जले छिटो फछ्र्यौट गर्न सकेको छैन । अनुसन्धान अधिकृत र प्राविधिकको समस्या रहदै आएको छ ।
नेपालगञ्ज इन्जिनियरिङ ल्याब राखेसँगै कर्मचारी दरबन्दी बढाउने तयारी भइसकेको छ । नेपालगञ्जमा अहिले २८ जना कर्मचारी छन् । त्यसमा अनुसन्धान अधिकृत तीन जनामात्रै रहेका छन् । उजुरीको चापलाई हेर्दा कम्तीमा ५ जना अनुसन्धान अधिकृत हुनुपर्ने कार्यालय प्रमुख गैरेले बताउनुभयो । नेपालगञ्जमा सात महिनादेखि प्राविधिक थिएनन् । भर्खरै आएका छन् । अनुसन्धान अधिकृतको कमीले गर्दा अख्तियारले उजुरीलाई छिटो फछ्र्यौट गर्नमात्रै होइन, आफै अग्रसर भएर अनुसन्धान गर्न सकिरहेको छैन । कार्यालयमै आएको उजुरीमा ऊ रुमलिएको छ । कार्यालय प्रमुख गैरेले कार्यालयमै आउने धेरै उजुरीमा काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी आफैले पनि खोजेर काम गरेका छौं । तर, आफैले खोजेको भन्दा कार्यालयमा आएका उजुरी धेरै छन् ।’
अख्तियारमा स्थानीय तहका बढी उजुरी छन् । स्थानीय तहमा नाता प्रमाणितसमेत गलत भएका उजुरी आइरहेका छन् । ‘छाप लागेको छ । कार्यालयमा जादा रेकर्ड भेटिदैन, यो वर्षमा यस्ता दुई तीन वटा उजुरी आएका छन् । हामीले विस्तृत अनुसन्धान गरिरहेका छौं, कार्यालय प्रमुख गैरेले भन्नुभयो, उपभोक्ता समितिमा आफ्ना मान्छे राखेको, शिक्षक नियुक्तिमा अनियमितता, विकास निर्माण गुणस्तरहीन, लागत स्टीमेट बिना काम, खरिद प्रक्रिया नमिलेको, मिलेको पनि नक्कली भरपाईसँगै स्थानीय निकायका ५० प्रतिशत उजुरी अनुचित कार्यसँग सम्बन्धित छन् ।’
देशभरमै संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, गृह, कृषि तथा पशुपंक्षी विकास, खानेपानी, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण, शहरी विकास, युवा तथा खेलकुद,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उर्जा, जलस्रोत तथा सिंचाई र अर्थ मन्त्रालयका उजुरी अधिक रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !