कवाली सुन्न भीड
नरैनापुर – बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर २, मियाँपुर्वामा चलिरहेको मेलामा कवाली सुन्न मानिसहरु झुम्मिएका छन् ।
कवाली सुन्न स्थानीयसँगै भारतको श्रावस्ती, बहराइच, गोण्डा, बलरामपुर, गुजरातबाट समेत मानिसहरु मियाँपुर्वा आएका छन् । भारतको कानपुर र इलाहाबादबाट आउनु भएका सरिफ परवाज र नेहानाजले कवाली गाउदा रातीमा भीड लाग्ने गरेको हो ।
कवाली गायन मेलाको प्रमुख आकर्षणका रुपमा रहेको छ । मुस्लिम धर्मगुरुको सम्झनामा डेढ सय बर्षदेखि लाग्दै आएको मेला यस बर्ष पनि मियाँपुर्वामा २२ गतेदेखि चलिरहेको छ । १८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ ।
मेलामा बाँके, बर्दियालगायत छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुर लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शालुहरु आउने गरेको मेला आयोजक एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी बताउनुभयो । सबै धर्मका मानिसहरु पुगेर रमाइलो गर्ने र आपसी सद्भाब बढाउने मेलाको बिशेषता रहेको शाहले बताउनुभयो ।