कार्यालय प्रमुखले खाए हात्तीपाइले औषधी

भिष्म लोध (नेपालगञ्ज) – राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत शुक्रबार कार्यालय प्रमुखहरुले औषधी खाएर अभियानको शुभारम्भ गर्नु भएको छ ।
जिल्ला समन्वय समितिका संयोजक, जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा इकाइका प्रमुखलगायतले औषधी खाएर अभियानको शुभारम्भमात्रै गर्नु भएको छैन, अरुलाई पनि निर्धक्कसँग खान अनुरोध गर्नुभयो ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, बाँकेका शिक्षा इकाई प्रमुख रामसुरेश यादव, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वाथ्य प्रशासक धिरजंग शाह, जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाही, रेडक्रसका प्रतिनिधिलगायतले हात्तीपाइलेबिरुद्धको औषधी सेवन गर्नुभएको थियो ।
औषधी सेवनपछि जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले सबैलाई औषधी सेवन गर्न अनुरोध गर्नुभएको छ । ‘मैले त औषधी सेवन गरे, श्रीवास्तवले भन्नुभयो, अब तपाईहरुले पनि खानुस् है ।’
उहाँले औषधी निवारण कार्यक्रमलाई सतप्रतिशत कार्यान्वयन गर्ने बाँकेका आठ वटा स्थानीय तहमध्ये एकलाई समन्वय समितिको कोषबाट बजेट प्रदान गरिने बताउनुभयो । हात्तीपाइले रोगविरुद्धको औषधी नखानेलाई स्थानीय निकायबाट प्रवाह गरिने सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरिएको उल्लेख गर्नुभयो । यसअघि गत बुधबार नेपालगञ्जमा सम्पन्न पाँचौ जिल्ला सभाले हात्तीपाइले रोगबिरुद्धको औषधी नखानेको सेवा सुविधा रोक्ने निर्णय गरिसकेको छ ।
बाँकेमा यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुन गइरहेको कार्यक्रमका फोकलपर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !