पर्यटन मार्गमा बजेट बढाइदिन ज्ञापन

नेपालगञ्ज – बाँकेको घुइयाबारी हुँदै सल्यान जोड्ने पर्यटन मार्गमा बजेट थपिदिन कर्णालीका अर्थमन्त्री प्रकाश ज्वालासँग माग गरिएको छ ।
कोहलपुर चप्परगौडी खड्कवार घुइयाबारी हुँदै सल्यान जोड्ने यो मार्ग निर्माणका लागि केन्द्रीय सरकारले एक करोड र कर्णाली प्रदेश सरकारले तीन करोड दिइसकेको छ । त्यही रकमबाट सडकको सर्वे भइरहेको छ ।
बाँकेका नेताहरु अशोक कोइराला, सूर्य ढकाल, बसन्ती अधिकारी, अब्दुल खाँलगायतले बिहीबार कोहलपुरमा कर्णालीका अर्थमन्त्री ज्वालालाई ज्ञापनपत्र बुझाउदै बजेट थप गरिदिन माग गरेका हुन् । कर्णालीका अर्थमन्त्री ज्वालाले बजेट थप्न कोसिस गर्ने आश्वासन दिनु भएको छ ।
बाँकेदेखि अहिलेसम्म सल्यान पुग्न ७० किलोमिटर पार गर्नुपर्छ । यो सडक बनेपछि २५ किलोमिटर हिड्दा नै पुगिन्छ । यो सडक निर्माण गर्दा नौ किलोमिटर ट्रयाक खोल्नु पर्ने अवस्था रहेको छ ।
बाँके राष्ट्रिय निकुञ्ज हुँदै जाने यो सडक पर्यटक मार्गको रुपमा विकास हुने विश्वास गरिएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिर, बाँके राष्ट्रिय निकुञ्ज हुँदै सल्यानको कुपेन्डे दह, डोल्पाको शे फोक्सोन्डो भएर मानसरोबरसम्म पुग्न मार्गको रुपमा यसलाई विकास गर्ने योजना अघि सारिएको छ । सडक निर्माणका लागि ४२ करोड लाग्ने आकलन गरिएको नेकपाका नेता सूर्य ढकालले जानकारी दिनुभयो । ‘यो मार्ग पर्यटन र धार्मिक हिसावले महत्वपूर्ण हुन्छ, हामी यसलाई छिटो बनाउन लागि परेका छौं, ढकालले भन्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !