झिंगे माछा र घिउ तस्करी

नेपालगञ्ज – घिउ तस्करले कहिले नेपालगञ्ज त कहिले बर्दियाको बलैगाउँ नाकालाई रोज्ने गरेको पाइएको छ ।
पहाडबाट ल्याउने घिउको पहिला बर्दियाबाट भारततिर तस्करी भएको फेला पर्यो । बर्दिया प्रहरीले ७० टीन बरामद गरेर निगरानी बढाएपछि तस्करहरु बाँकेतिर सरे । बाँकेको नाकाबाट १४ वटा साइकलमा राखेर लैजादै गरेको घिउ समातेर भन्सार बुझाइएपछि तस्करहरु फेरि बर्दियातिर सरेको घटनाक्रमले देखाएको छ ।
बर्दियाले बलैगाउँ नाकामा पर्ने फुटाहाबाट २५ टीन घिउ बरामद गरेको छ । बढैयाताल गाउँपालिका वडा नं. २, फुटाहाको शेरबहादुर सुनारको घर नजिकको परालमा लुकाइराखेको घिउ प्रहरीले बरामद गरेको हो । घिउको कसले त्यहाँ राखेको खुल्न सकेको छैन । सादा पोशकका प्रहरीले बेवारिसे अवस्थामा रहेको घिउ समातेको बर्दिया प्रहरीले जनाएको छ ।
फुटाहागाउँ बलैगाउँ नाकामा पर्छ । नाकामा पुर्याइएको घिउ पायक पर्दा भारततिर सप्लाई गर्ने कारोबारीको योजना हुन सक्छ । नेपालगञ्जमा पनि दुई हप्ताअघि नाकाबाट नै घिउ समातिएको थियो ।
सुर्खेतलगायत पहाडी जिल्लाबाट संकलन गरेर ल्याउने घिउ तस्करले भारत पुर्याउने गरेको खुल्न आएको छ । घिउ बरामद भएपनि अहिलेसम्म तस्कर पक्राउ पर्न सकेका छैनन् ।
यसैबीच, नेपालबाट भारतमा झिंगे माछासमेत तस्करी हुने गरेको पाइएको छ । प्रहरीले घिउसँगै सात कार्टुन सुकाइएको झिंगे माछासमेत बरामद गरेको छ । तस्कर एकैलटमा घिउ र झिंगे माछा भारत सप्लाई गर्ने तरखरमा थिए । बर्दिया प्रहरीले घिउ र झिंगे माछा कसको हो भन्ने खुल्न नसकेको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !