लागु औषधी कारोबारीविरुद्ध कठोर बन्न आइजीपीको निर्देशन

नेपालगञ्ज – प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले लागु औषधी कारोबारीविरुद्ध कठोर रुपमा प्रस्तुत हुन निर्देशन दिनु भएको छ ।
‘लागु औषधीले घर, समाज र देशलाई बर्बाद पारिरहेको छ । यस्तोको कारोबार गर्नेलाई कठोर र निर्मम भएर कारबाही गर्नुस्, नेपालगञ्जमा सञ्चालनमा ल्याइएको प्रहरी विधिविज्ञान प्रयोगशाला र लागु औषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक निशुल्क परामर्श केन्द्रको उद्घाटन गर्दै आइजीपी खनालले भन्नुभयो, त्यस्ता लठैत अपराधीलाई होस उडाउने गरी कारबाही गर्नुस् । अपराधमा लागेकालाई तहसनहस गर्न जरुरी छ ।’
आइजीपी खनालले सीमावर्ती जिल्लामा बढी लागु औषधीको कारोबार भइरहेकाले भारतीय अधिकारीहरुसँग मिलेर लागु औषधीविरुद्ध काम गर्न मातहतलाई निर्देशन दिनुभयो । लागु औषधमा राम्रो कमाई भएका, ठूल्ठूला घरानाका छोराछोरीसमेत फसिरहेको स्मरण गराउदै खनालले लागु औषधीबाट बचाउन स्कूल तहमा प्रहरी पुगिरहेको बताउनुभयो ।


लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तकुमार लामाले नेपालमा दुई लाख लागु औषधी प्रयोगकर्ता भएको बताउनुभयो । दुई लाखमध्ये १६ देखि ४० वर्षका ९५ प्रतिशत रहेको लामाको भनाई थियो । एसएसपी लामाले देशमा लागु औषधी प्रयोगकर्ता ११.३८ प्रतिशतले बढिरहेको जानकारी दिनुभयो । कारबाही गरिएका वा सुधार गृहबाट निस्केका ९५ प्रतिशत फेरि पुरानै लतमा फर्किने गरेको लामाको भनाई थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँकेका एसपी वीरबहादुर ओलीले, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, परामर्शदाता दिपेन्द्रकुमार जोशीले लागु औषधीबाट समाजलाई मुक्त गराउन सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।
प्रहरीले दुई करोड ८२ लाख ३१ हजार ६ सय ७० रुपैयाको लागतमा विधिविज्ञान प्रयोगशाला र परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !