झोलामा खुकुरी, प्रहरीले किन हेर्दैन ?

नेपालगञ्ज – केही दिन अघि जाँचका क्रममा दुई जनाको झोलामा खुुकुरी फेला पर्यो । बाँके प्रहरीले किन बोकेको केरकार गर्यो । जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज ह्रिदेश सापकोटाका अनुसार खुकुरी बोक्नेलाई अभद्र व्यवहारमा कारबाही प्रक्रिया चलाइयो ।
कसैले कुनै सुराकी दिएर प्रहरीले युवाको झोलाबाट खुकुरी बरामद गरेको थिएन । सामान्य जाँचका क्रममा फेला पारेको थियो ।
सोमबार सेतुविक चोक नजिक केही युवा मिलेर एकजनालाई कुटपिट गरे । रोशन महतरालाई सुरेश कुर्मी, अनुराग शाहलगायत मिलेर कुटपिट गरेको प्रहरीको भनाई छ । यो कुटपिटको क्रममा पनि खुकुरी निकालिएको थियो । यद्यपि, खुकुरी प्रहार गरेको देखिदैन ।
पछिल्ला यी घटनाले नेपालगञ्जमा युवाहरुले झोलामा खुकुरी बोकेर हिड्ने गरेको पाइएको छ । झोलामा कुखुरी बोकेर हिड्नेले प्रहरी प्रशासनलाई चुनौती दिएका छन् । हतियार बोकेर हिड्नेले रिस उठ्दा वा झगडा हुँदा त्यसको प्रयोग नगर्ने कुरै आउदैन । बाँके प्रहरीले चेकजाँचमा कडाई र धारिलो हतियार बोक्नेलाई कारबाही नगर्दा युवाहरुले खुकुरी बोक्न थालेका छन् । बाँकेमा तत्कालिन एसपी विक्रमसिंह थापाको पालामा युवाहरुले खुकुरी बोक्न छोडेका थिए । त्यतिबेला युवाहरुको झोला जाँच हुन्थ्यो । अहिले त्यस्तो छैन । नेपालगञ्जमा दिनदहाडै खुकुरी प्रहार गरेको घटना बेलाबेलामा आइरहन्छ । बाँके प्रहरीले एक चरण झोला चेक गर्ने अभियान चलाउने कि ?
बाँके प्रहरीले झोला खोतल्ने अभियान नै नचलाएपनि शंकास्पदको जाँच गरिरहेको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !