शहीद परिवार गोपाललाई उठीबासको चिन्ता

राजापुर (बर्दिया) – बर्दिया राजापुरका गोपाल चौधरी केही दिनदेखि तनावमा छन् । वडाध्यक्षको उपस्थितिमा गाउँको बृहत भेलाले गरेको निर्णयको बेवास्ता हुन थालेपछि चौधरी तनावमा परेका हुन् । चौधरीमात्रै होइन, राजापुर–८, कोइलीगाउँका एक दर्जन घरपरिवार यतिबेला तनावमा छन् ।
कोइलीगाउँमा नगरपालिकाले मापदण्ड अनुसारको बाटो बनाउने तरखर गरेको छ । १५ मिटरको बाटो बन्दा छेउछाउका घरहरु भत्किनु स्वभाविक नै भयो । तर, निर्णय विपरित काम गर्ने तरखर गर्दा कोइलीगाउँका गोपाल चौधरी, गणेश गौतम, छविलाल पल्लीमगर, भवानी थारुलगायत एक दर्जन मर्कामा पर्ने भएका छन् ।
२०७५ चैत्र २५ गते अहिले भइरहेको बाटोलाई बीचमा पारेर दुवैतिर बराबर फराकिलो पार्ने निर्णय भएको थियो । यो निर्णय गराउनमा वडाध्यक्ष चिन्तामणि आचार्यको ठूलो भूमिका थियो । दुवैतिर बराबर फराकिलो पार्दा जति जग्गा या घर नै परेपनि गाउँलेहरु राजी थिए । तर, अहिले आएर तीन-चार जना व्यक्तिको दबाबमा बाटो पश्चिमतिरमात्रै फराकिलो पार्ने तयारी भएपछि गोपाल चौधरीलगायत तनावमा परेका हुन् । अहिले ६-७ मिटरको बाटो छ । १५ मिटरको बनाउदा पश्चिमतिरमात्रै बढ्दा गोपालको उठीबास हुने अवस्था छ । शहीद परिवारका सदस्य गोपाल मर्का पर्न थाले भनेर जादा त्यही पार्टीबाट चुनाव जितेर जनप्रतिनिधिले कुरासम्म सुनिदिएका छैनन् ।
बाटो फराकिलो र राम्रो हुँदा गाउँलेहरु खुशी हुनुपर्नेमा उल्टै उठीबास लाग्ने अवस्था आएको भन्दै गुहार मागिरहेका छन् । केही व्यक्तिको जग्गा बचाउनलाई एकातिरमात्रै बाटो फराकिलो गर्न थालिएको पीडितहरुको भनाई छ । ती व्यक्तिहरुको जग्गा कटेपछि फेरि बाटो बीचबाट नै दुवैतिर बराबर फराकिलो गर्न थालिएको चौधरीले बताउनुभयो ।


बीच प्वाइन्टबाट बराबर फैलाउने निर्णय गराएका वडाध्यक्ष आचार्यले अहिले आएर बाटो पश्चिमतिर ढल्केको बताउनुभयो । वडाध्यक्ष आचार्यले चर्को दबाब आएको बताउने गर्नु भएको छ । ‘यो बाटोको विषयमा मैले सक्दिन । मेयर, प्रशासकीय अधिकृत, नापीका मान्छे फिल्डमा ल्याउँछु, वडाध्यक्ष आचार्यले भन्नुभयो, नक्सामा पश्चिमतिर ढल्केको देखिन्छ । नक्सा अनुसार गर्ने कि चलनचल्तीको बाटोलाई मानेर दुवैतिर बराबर फैलाउने विवाद रहेको छ ।’
चैत्र २६ गते नापेर एकातिर किल्ला ठोकिएको थियो । शनिबार अर्को नापी टोली आएर अर्कोतिर चिन्ह लगाएर गएका छन् । मेयर शिवप्रसाद चौधरीले केही शक्तिशाली व्यक्तिको कुरा सुन्छन् कि गरीवको ? यतिबेला बर्दियामा चर्चाको विषय बनेको छ । अहिले भइरहेको बाटोलाई बीचमा मानेर दुवैतिर बराबर फैलाउदा उत्तम हुने बताउनेको संख्या पनि बाक्लो देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !