२४ जिल्लालाई फोकस गरेर भिजिट मधेस
नेपालगञ्ज – तराई मधेसका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि ‘भिजिट मधेस’ नेपाल बर्ष २०२० को शुरुवात गरिएको छ ।
तराईका २४ जिल्लालाई फोकस गरेर यो अभियान चलाइएको हो । यो अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सघाउ पु¥याउने विश्वास गरिएको छ । भिजिट मधेसको टोली नेपालगञ्ज आएर सरोकारसँग छलफल गरेको छ ।
भिजिट मधेस अभियानलाई सफल पार्न तराई मधेसका २४ जिल्लाका सदरमुकाममा सरोकारवाला बीच अन्तरक्रिया थालिएको अभियानका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफले बताउनुभयो । तराई मधेसका संस्कृति, भेषभुषा, रहन सहनको प्रचार प्रसार गर्न सकिए त्यसले पनि पर्यटकलाई तराई मधेसमा भित्र्याएर यहाँको पर्यटन विकास गर्न सकिने कुरामा सर्राफको जोड थियो ।
तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई झन् आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ । तराई मधेसका २४ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट ‘भिजिट मधेस नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको अभियान्ताहरुले बताए
जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले नेपाल पर्यटन बर्ष सफल बनाउन सबै लाग्नु पर्ने बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगञ्जलाई फोकस गरेर पर्यटकलाई आकर्षित गराउनु पर्ने बताउनुभयो ।
छलफलमा विभिन्न व्यक्तित्वहरुले भारतीय पर्यटकलाई आकर्षित गर्न सके नेपालको पर्यटकीय व्यवसाय उचाईमा पुग्ने बताएका थिए ।