किन रुदै हिड्छन् यी बृद्ध ?

नेपालगञ्ज – प्रहरी, प्रशासनमा गुहार माग्न पुगिरहन्छन् । मिडिया हाउसमा दुःख पोख्न पुगेकै छन् । कतैबाट उनको मनमा शान्ति मिल्न सकेको छैन । बुधबार नेपालगञ्जमा पत्रकार सम्मेलन नै गरेर धुरुधुरु रोए ।
नेपालगञ्जका महेन्द्र विसीलाई परेको पीर के हो ? किन उनी आफ्नै छोराबुहारीविरुद्ध गुहार माग्दै हिड्का छन् ? आफैले जन्माएको छोरासँग किन उनको मन कुँडिएको छ ?
रिटायर्ड मास्टर बिसी भन्नुहुन्छ, ‘छोराले बेहोस् बनाएर सम्पति हडप्यो । केही नभएको मान्छेलाई सुधार गृहमा राखेर विभिन्न औषधी खुवाएर यातना दिने काम गरियो ।’ साँच्चै विसीले भनेको जसरी लठ्याएर सम्पति हडप्न मिल्छ ? विसीका अनुसार, सामना सुधार गृहमा चार महिना ११ दिन राखियो । सुधार गृहमा केही नभएको मान्छेलाई दिनमा चार गोली (औषधी) खान दिन्थे । त्यो गोलीले उनी कमजोर हुँदै गए । त्यही मौकामा मालपोतमा लगेर जबरजस्ती जग्गा पास गरियो । सीतापुरमा रहेको दश कठ्ठा र कोरियनपुरमा रहेको साढे आठ धुरमा बनेको घर औषधी खुवाएर लठ्याएर पास गरेको बिसीको आरोप छ । यो जग्गा र घर बिसीको जिउनी थियो । यसअघि नै उनले छोरालाई अंश दिइसकेका थिए ।
बिसीका दुई छोरा र दुई छोरी हुन् । जेठो छोराको मृत्यु भइसकेको छ । कान्छो छोरा शिक्षक छन् । शिक्षक रहेका छोराले बृद्ध बुवालाई किन यति रुवाइरहेका छन् ? प्रश्न उठेको छ । पत्रकार सम्मेलनमा बृद्ध विसीले भन्नुभयो, अहिले बस्ने ठेगान छैन । त्यही घरमा बस्दा छोराले सुधार गृहमा पठाइदिऊ भन्दै हप्काउँछ ।’ बिसीका अनुसार, सुधार गृहमा बाइबलका श्लोक नजानेको भन्दै खुब पिट्ने गरिन्थ्यो । घरपरिवारले सुधार्न पठाइहाले पनि सुधार गृहले बाइबल घोकाउने र नजाने पिट्ने कुरा कत्तिको जायज होला ? यहाँको प्रशासनले बुझ्नु पर्ने विषय बनेको छ ।
२०६८ सालमा श्रीमती बितेपछि विसीले अर्कैलाई श्रीमती बनाएर ल्याउने र भएको सम्पती उसकै नाममा पास गरिदिन थालेपछि छोराबुहारीले जबरजस्ती सम्पति लिएको एकथरीको भनाइ रहेको छ । तर, मालपोत कार्यालयमा विसीको औठा छाप लगाउने बेलामा गुहार, गुहार भन्दा किन कसैले सुनेनन् ? गम्भीर विषय बनेको छ ।


error: यो सुविधा उपलब्ध छैन !