पत्रकारिता पढ्नै पर्ने पेशा पो त

नेपालगञ्ज – बृद्धावस्थामा रहेका दार्शनिक सुकरातलाई एक दिन केही व्यक्ति आएर सोधे –‘एथेन्सका मान्छे भन्छन् कि सुकरात जस्तो महाज्ञानी भेट्न मुस्किल छ । के यो सत्य हो ?’ सुकरातले जवाफ दिए–‘म जब बालक थिएँ, मसँग केही अनुभव थिएन, जीवनबारे मैले केही बुझेको थिइन । मलाई लाग्थ्यो, सबैभन्दा जानकार म नै हुँ । जब म युवा अवस्थामा प्रवेश गरें, मलाई सिक्न अझै केही बाँकी छ भन्ने लाग्यो । तर धेरै जानेको छु भन्ने भ्रम सँगै थियो । तर अहिले म वृद्धावस्थामा पुगें, अनुभव धेरै बटुलियो । नयाँ नयाँ बिषय र अन्जान तथ्यका चाङ त अहिले पो मेरा अगाडि आउन थाले । अब मलाई लाग्दैछ, मलाई त सिक्न धेरै पो बाँकी रहेछ । अब मृत्युको संघारमा छु । म अब स्पष्टसँग भन्न चाहन्छु । म भन्दा अज्ञानी संसारमा सायद अरु कोही छैन ।’
अध्यात्मिक शिक्षाले यसलाई आफ्नै ढंगले परिभाषित गर्दछ । मैले उठान गर्न खोजेको बिषय भने फरक हो । मैले उठाउन खोजेको बिषय पत्रकारितासँग सम्बन्धित हो । पत्रकारिता गर्नका लागि पत्रकारिता नै पढ्न कत्तिको जरुरी छ भन्ने चासो यदाकदा पाइन्छ । कतिपय भन्छन्, पत्रकारिता पढ्ने भन्दा पनि पत्रकारिता गर्ने बिषय हो । पत्रकारिता औपचारिक शिक्षाभन्दा पनि कर्म हो, पेशा हो । आफैंमा ज्ञान हो । पत्रकारहरुलाई सबै थाहा हुन्छ भन्ने समाजमा अझै पनि अन्धविश्वास छ । पत्रकारले सबै जानेका हुन्छन्, सबै कुराको ज्ञान हुन्छ भनेर समाजले बुझ्नु भनेकै पत्रकारप्रतिको आशा र भरोसा हो । एउटा पत्रकार समाजका लागि कति आवश्यक र जिम्मेवार छ भन्ने समाजको यही मनोविज्ञानबाट थाहा पाउन सकिन्छ ।
पत्रकारिता फगत एउटा पेशा हो । अन्य पेशा झैं । तर यो अलिक फरक खालको पेशा पक्कै हो । धेरै पढ्नुपर्ने र लेख्नुपर्ने पेशा ।
साहित्य, लेखन र पत्रकारितासँग आम बुझाइ अलिक फरक नै छ । साहित्य र लेखनमा औपचारिक शिक्षाको खासै साइनो छैन भन्नेहरु पनि छन् । त्यस्तै पत्रकारिता गर्नका लागि पत्रकारिता पढ्नैपर्ने जरुरी नठान्नेहरुको संख्या पनि कम छैन । यसमा म चाहि सहमत हुन सक्दिन । पत्रकारिता पेशा अपनाउन पत्रकारिताको उच्च शिक्षा लिन जरुरी छैन भन्नेहरु ठेकेदारले घर बनाइहाल्छ, इन्जिनियर किन चाहियो भन्ने जस्तै जमात हो । भौतिक विकासक्रमसँगै घर बनाउन त इन्जियर पो चाहिन्छ । सहरीकरण भएका हरेक ठाउँमा इन्जिनियरले नक्सा पास नगरुन्जेल घर निर्माण गर्न पाइदैन । हो, यस्तै हो पत्रकारिता गर्नका लागि पत्रकारिता पढ्दा नै जिम्मेवार पत्रकारिता हुन्छ, यो चाहि सत्य हो । मोफसलको प्राय पत्रकारिता भुत्ते हुँदैछ । पत्रकारिता त के औपचारिक शिक्षा तथा अनौपचारिक अध्ययनप्रति पनि पत्रकारको खासै मोह देखिंदैन । यो समग्र पत्रकारिताका लागि राम्रो संकेत हैन ।
कतिपय अग्रज पत्रकारहरु पनि पत्रकारिता गर्न पत्रकारिता पढिरहन आवश्यक नपर्ने पैरवी गरेको सुन्दा मलाई उदेक लाग्छ । यो नपढेकाले गर्ने तर्क हो भनेर म चाहि बुझ्न सक्छु । निस्सा साप्ताहिक भित्ते पत्रकारिताबाट सुरु भएको मेरो पत्रकारिताको यात्रा तत्कालीन समयको लिडिङ पत्रिका नेपाल समाचारपत्रसम्म पुग्यो, अध्ययनका हिसाबले आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर (एमए) गर्न सफल भएँ । अहिले पनि महिनामा साप्ताहिक तथा पाक्षिक गरी करिब सात, आठवटा लेख म नियमित लेख्ने गरेको छु । हाम्रो सुरुवाती पत्रकारिता र अहिलेको पत्रकारितामा आमुल परिवर्तन भइसकेको अनुभूति हुन्छ । ‘फाइभ डब्ल्यु वन एच अचेल’ म भेट्दिन । पठनीय स्टोरी भए पुग्छ । पाठक जे रुचाउँछन्, त्यही स्टोरी हो । पाठकले रुचाउने स्टोरी लेख्नका लागि अध्ययन जरुरी छ । अध्ययनले नै हरेक लेखक, पत्रकार र साहित्यकारलाई परिपक्व र सिर्जनशील बनाउने हो । लेखक, पत्रकार तथा साहित्यकारलाई परिपक्व र सिर्जनशील बनाउन अनौपचारिक शिक्षाले पनि ठूलो भूमिका खेल्छ । तर, पत्रकारिता नै गर्न फेरिपनि औपचारिक शिक्षा नै पहिलो शर्त हुनुपर्छ, त्यो पनि पत्रकारिता बिषय नै पहिलो प्राथमिकतामा रहनुपर्दछ ।
पत्रकारिताको ट्रेन्ड बदलिसकेको छ । अब नेताको भाषण टिपोट गरेकै भरमा पत्रकार भइरहन मुस्किल छ । औपचारिक समाचार भन्दा अनौपचारिक समाचारमा पाठकको रुची बढ्दो छ । कतिपयको चासो हुने गर्दछ, पत्रकारिता पढ्दैमा लेख्ने कला सिकिन्छ र ? हामीले बुझ्नुपर्ने के हो भने जिम्मेवार पत्रकार बन्न पत्रकारिता पढ्न आवश्यक छ । समाचारलाई सन्तुलन बनाइराख्न, तथ्यगत चेकजाँच गर्ने सीपको विकास गर्न पत्रकारिता पढ्न आवश्यक छ । साथै आचारसंहिता पालना गर्न, व्यवसायिक मर्यादा कायम राख्न, चाकडी र चाप्लुसीमा नभइ आफ्नो कर्ममा बिश्वास गर्न पनि पत्रकारिताको औपचारिक शिक्षाले सघाउँछ । त्यतिमात्र हैन, सैद्धान्तिक ज्ञानको दायरा बढाइदिन्छ, जसले आवश्यक बहस छलफल गर्न हिम्मत बढाउँछ । दलगत आवरणभित्र लुकेर पत्रकारिता गर्नबाट सचेत गराइदिन्छ । हरेक पत्रकारलाई विवेकशील बनाउन पनि मद्दत गर्दछ । पत्रकारलाई जिज्ञासु बनाउँछ । हरेक दिन नयाँ नयाँ कुरा सिक्ने हुटहुटी बढाउँछ ।
पछिल्लो समय पत्रकार बढेका छन्, पत्रकारिता बढ्न सकेको छैन । यो लोकतन्त्रका लागि नै राम्रो हैन । सभ्य समाजका लागि पनि राम्रो संकेत हैन । पढेका पत्रकार राम्रो त कति हुन सक्लान, नराम्रो बन्नबाट भने सदैव सजग रहन्छन् । कसैका हुलाकी र भरिया हुन चाँहि सक्दैनन् । यो चाहि सत्य हो । सुकरातको ज्ञानको परिभाषा अलग होला, तर पत्रकार जति अनुभवी हुँदै गयो उति सिक्ने चाह हुनु नै असल पत्रकारको गुण हो । त्यसले नै जिम्मेवार पत्रकारिताको विकासमा टेवा पुग्दछ । जति अनुभवी हुँदै गयो, उति सिक्ने गुण हुनु व्यक्तिका लागि मात्र नभइ सिंगो समाजका लागि उपलब्धि हुनेछ ।

(लामो समयदेखि मूलधारको पत्रकारिता गरेका ठकुरीले आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् ।)


error: यो सुविधा उपलब्ध छैन !