फेरि बडघर चुनिए चन्द्र

नेपालगञ्ज – बाँकेको बैजनाथ गाउँपालिका–८, फत्तेनगर गाउँको बडघरमा चन्द्रबहादुर चौधरी फेरि चुनिएका छन् ।
पाँच वर्षअघि पनि बडघर भइसकेका चौधरीले त्यतिबेला विकास निर्माणको काम गरेकाले गाउँलेले फेरि उनलाई बडघर बनाएका हुन् । यसअघि बडघर हुँदा चौधरीले रामजानकी मन्दिरको जग्गा व्यवस्थापन, सय जना बस्ने बैठक हल, दुई वटा चौतारा, खानेपानी ट्यांकी, सरकारी नक्सा अनुसार बाटो, विद्युत, कृषि, मानखोलामा तटबन्ध बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
शनिबार गाउँको भेलाले नेकपाका नेतासमेत रहेका चौधरीलाई पुनः बडघर चुनेको हो । भेलाले छुट्की बडघर मंगल थारु, सचिव महावीर थारु, कोषाध्यक्ष देवीराम थारु र चौकीदारमा प्रेम थारुलाई चयन गरेको छ ।
थारु गाउँमा अहिले पनि बडघर चुन्ने र उसको अगुवाईमा विकास निर्माणदेखि विवाद मिलाउनेसम्म काम हुने गर्दछ । गाउँका अगुवासमेत रहेका चन्द्रलाई अगाडि सार्दा विकास निर्माणको काम बढी हुने गाउँलेले विश्वास गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !