हकी र निडर रौनियार
प्रियास्मृति ढकाल
नेपालगञ्ज – आफ्नो उम्मेदवारी औचित्य पुष्टि गर्दै ललितकुमार रौनियार भन्नुहुन्छ, ‘समग्र नेपालगञ्जको उद्योग र व्यवसाय फस्टाएमात्र उद्योगी व्यवसायीहरुको लगानी सुरक्षित हुन्छ । मेरो उम्मेदवारी व्यवसायीक सुरक्षा, हकहित र नेपालगञ्ज उद्योग बाणिज्य संघको गरिमा जोगाउनका लागि हो ।’
नेपाली उपभोक्ताको रोजाइँ सीमावर्ती रुपैडिया बजार भइरहदा नेपालगञ्जका उद्योगी व्यवसायी मारमा पर्दै आएकोतर्फ इंकित गर्दै रौनियारले यहाँको बजार फस्टाएमात्रै उद्योगी व्यापारीको लगानी सुरक्षित हुने बताउनुभयो ।
नेपाली उपभोक्तालाई नेपालगञ्जमै रोक्न नेपालगञ्ज उद्योग बाणिज्य संघले नेतृत्वदायी र प्रभावकारी कदम चाल्न नसकेको रौनियारको भनाई छ । ‘आम उद्योगी व्यवसायीको गुनासो छ, संघले व्यवसायीहरुका सवालमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न सकेन । उद्योगी व्यवसायीहरुको यही गुनासो चिर्नका लागि नेतृत्वमा आउन चाहेको हुँ, रौनियारले प्रष्ट पार्नुभयो ।
निडर र हकी स्वभावका रौनियार स्पष्ट वक्ताका रुपमा परिचित हुनुहुन्छ । यही स्वभावका कारण रौनियारले व्यवसायीहरुका मुद्दा स्पष्टसँग सम्वन्धित ठाउँमा पु¥याएर नतिजा निकाल्ने यसक्षेत्रका अगुवा उद्योगी व्यवसायीहरुको बुझाई छ ।
करिव ३० बर्षदेखि व्यावसायीक क्षेत्रमा सक्रिय रौनियार दमयन्ती इजी मार्ट एण्ड डिपार्टमेन्टल स्टोर फर्म सञ्चालक हुन् । व्यावसायीक संगठनहरुमा विभिन्न तह तप्कामा रहेर नेतृत्व गरिसकेका रौनियार नेपालगञ्जका सम्पूर्ण उद्योगी व्यवसायीमाझ परिचित हुनुहुन्छ ।
नेपालगञ्ज उपमहानगरपालिका–३, बागेश्वरी टोल, हाल वडा नम्वर १८ कारकाँदोमा बस्दै आएका रौनियारले उद्योगी व्यवसायीको हकहित र अधिकारको सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघमा रहदा महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको यहाँका अगुवा उद्योगी व्यवसायीहरु बताउँछन् ।
नेपालगञ्ज उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य, पूर्व बरिष्ठ कार्यसमिति सदस्यको जिम्मेवारी निर्वाह गरेका रौनियार नेपाल वितरक महासंघ काठमाडौंका पूर्व उपाध्यक्ष, नेपालगञ्ज वितरण संघको संस्थापक अध्यक्ष हुन् । उद्योग व्यवसायसँगै रौनियारले सामाजिक क्षेत्रमा समेत योगदान दिनु भएको छ । शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक क्षेत्रमा रौनियारको महत्वपूर्ण योगदान छ । नेपाल चीन शैक्षिक तथा सांस्कृतिक परिषदको केन्द्रीय सदस्य, नेपालगञ्ज नगर विकास समितिका पूर्व अध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका ललित रौनियार आगामी माघ ११ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ ।