सकिए केही खेल

खजुरा – बाँकेको खजुरास्थित अमर मावि, गौतमबस्तीको खेल मैदानमा भइरहेको दोस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार दोस्रो दिन विभिन्न खेलको अन्तिम नतिजा आएको छ ।
खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा शटपुट छात्रातर्फ निमाविमा जनसेवा माविका पुष्पा कामी प्रथम, नेरा मावि मनकमनापुरका सुष्मा बादी द्वितिय र इन्टीग्रेटेड एकेडेमीका निशा थापा तृतिय भएका छन् । निमाविकै छात्र छात्रातर्फको सय मिटर दौड, मावि छात्रा छात्र सय मिटर दौड, प्रावि सय मिटर दौड, रिले दौड, कुर्ची दौड, लङजम्प, चम्चादौड सम्पन्न भएको दोस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता सचिवालय संयोजक यमनारायण महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न तौल समूहको जुडो खेल पनि सम्पन्न भएको छ । भलिबल लगायतका अन्य खेलहरुमा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा खजुरा क्षेत्रका ६५ विद्यालयको सहभागिता रहेको छ ।











