गाडी घ्याच्च, गाली प्याच्च

नेपालगञ्ज – ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल उपस्थित भएको कार्यक्रममा सांसद नन्दलाल रोकायले दुःखेसो पोख्नुभयो, ‘परसपुर–गौघाट सडकलाई हेरिदिनु पर्यो । हामी (सांसदहरु) लाई गाली गरेर हैरान पारे ।’
खजुरा सम्मेलनको बेला थियो त्यो । सांसद रोकायले सुनाउनु भयो, ‘त्यो बाटो खराब छ । गाडी घ्याच्च हुँदा सांसदलाई प्याच्च गाली गर्छन् । एकपटक घच्याक्क हुँदा सांसदलाई पच्याक्क गाली गर्छन् ।’ प्रदेश सांसद बाबुराम गौतमले पनि त्यही कुरा दोहो¥याएर भन्दा उपस्थित व्यक्तिहरु मज्जाले हाँसेका थिए । रोकाय र गौतमले जति ढिलो बाटो बन्छ, त्यति धेरै गाली हामीले खानु पर्छ । हामीलाई बचाइदिनुस् भन्दै मुख्यमन्त्रीसँग गुहार नै मागे । दुवै जना त्यही क्षेत्रबाट जितेका संघ र प्रदेशका सांसद हुन् ।


हुन पनि परसपुर–गौघाटको सडकको अवस्था दयनीय रहेको छ । बाँके र बर्दिया जोड्ने दक्षिणको यो बाटो चलनचल्तीको हिसावले व्यस्त छ । बाटो भने अति नै जीर्ण रहेको छ । तीन मिटरमा रहेको कालोपत्रे कतै दुई अंगुलमा खुम्चिएको छ भने कही खुइलिसकेको छ । यतिबेला यो बाटोमा मोटरसाइकल, स्कुटी, अटोरिक्सा वा साना गाडी चलाउनेहरु घच्याक–घुचुक छल्न मज्जाले नाँच्ने गर्दछन् । खाल्टाहरु छल्दा छल्दै रिंगाटो नै लाग्ने अवस्था रहेको छ ।
के छ त यो बाटोमा सरकारको नजर ? खजुराको अमर माविमा शुरु भएको दोस्रो रनिङ शिल्ड उद्घाटनमा आउनु भएका प्रदेश सांसद गौतम भन्नुहुन्छ, ‘अहिले त्रिवर्षीय योजनामा ३२ करोड रुपैया परेको छ । तीन वर्ष अघि नै परसपुर–गौघाट सडक मज्जाको हुन्छ ।’


परसपुर–गौघाट सडक १३ किलोमिटर लम्बाईमा रहेको छ । सांसद गौतमका अनुसार, यो सडक पहिला तीन मिटरमा पिच थियो । अब सात मिटरमा कालोपत्रे हुँदैछ । नाली बन्दैछ । माटो फिलिङ गर्नुपर्नेछ । ३२ करोड रुपैयाले यी सब काम हुँदैछन् । किरण नालाको पुल भने यो बजेटमा पर्दैन । यो बजेट प्रदेश सरकारको हो । ‘मैले धेरै लडेर बजेट पारेको हुँ, प्रदेश सांसद गौतमले भन्नुभयो, योमात्रै होइन, खजुरा, जानकीका धेरै बाटोमा प्रदेशको बजेट पारेको छु ।’


प्रदेश सांसद गौतमले परसपुर–साईगाउँ सडकमा ४० लाख, कर्मोना–बन्जाडेगाउँमा ४० लाख, तेजनगर–गुरुवागाउँमा १० लाख, खजुरा–लैनपुरमा २२ लाख, परसपुर–बेलभारमा ६० लाख, चुच्चेडाँडा–बलैपुरमा ५० लाख, राधापुर सडकमा ५० लाख, ग्रामीण विकासका लागि गनापुरमा एक करोड पारेको जानकारी दिनुभयो । खानेपानी, स्कूल, पर्यटकीय स्थल बनाउन पनि प्रदेशको बजेट पारेको गौतमको भनाई थियो ।


error: यो सुविधा उपलब्ध छैन !