अमरमा शुरु भयो, दोस्रो रनिङ शिल्ड

 

खजुरा – खजुराको अमर मावि, सीगाउँमा सोमबारदेखि दोस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।
‘शिक्षा, स्वास्थ्य र खेलकुद खजुराको शान, विविधतामा एकता हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरु भएको प्र्रतियोगिताको पूर्व खेलकुदमन्त्री दलजीत सिर्पालीले उद्घाटन गर्नुभयो ।
पूर्वमन्त्री सिर्पालीले शिक्षा, स्वास्थ्य र खेलकुदको हब बनाउने खजुराको सपनालाई आफूले पदमा रहदा वा नरहदा पनि सहयोग गर्ने बचनबद्धता गर्नुभयो ।
प्रदेश सांसद बाबुराम गौतम, आइपी खरेलले शिक्षा र खेलकुदको क्षेत्रको विकासमा खजुरा गाउँपालिकाको अभियानमा आफुहरुको साथ र सहयोग रहेको बताउनुभयो ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुराले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्ने खेलाडी जन्माएको उल्लेख गर्दै खजुरालाई खेलकुदको हक बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।


शिक्षा विज्ञ भक्तबहादुर केसीले प्रतियोगितालाई सम्पन्न गर्न सबै जिम्मेवारीमा रहेका तथा खेलाडी विद्यार्थीलाई आग्रह गर्नुभयो । विद्यालय अमर मावि व्यवस्थापन समितिका अध्यक्ष डम्बर विक तुफानले देश र विश्वमा चिनाउने अभियान मेयर रनिङ शिल्डसमेत हुने बताउनुभयो ।
प्रतियोगिता माघ ३ गतेसम्म सञ्चालन हुनेछ । खजुरा क्षेत्रका ६५ विद्यालयको सहभागिता रहेको छ ।


प्रतियोगितामा मावि (कक्षा ९¬१२), आधारभूत तह (कक्षा १–८) र आधारभूत तह (कक्षा १–५) मा अध्ययनरत १८ वर्ष, १४ वर्ष र १२ वर्ष मुनिका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ४ सय ६ विद्यार्थीको सहभागिता रहेको छ ।
आधारभूत तहका लागि बालमैत्री खेलहरु खेलाइने छ । मावितर्फ एथलेटिक्स, भलिवल, कबड्डी, मार्शल आर्ट र चेस खेलका ३३ इभेन्ट्स, आधारभूत तहतर्फ एथलेटिक्स, कबड्डी, मार्शल आर्ट र चेस खेलका २५ इभेन्ट्स तथा आधारभूत तहतर्फ लङजम्प, रिले सय मिटर दौड, चम्चा दौड ३० मिटर र कुर्सी दौड खेलका ७ इभेन्ट्स गरी ६५ ओटा खेलहरुमा प्रतिस्पर्धा भइरहेको सचिवालय संयोजक यमनारायण महतोले जानकारी दिनुभयो ।


प्रतियोगिताका प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यालयहरुलाई मावितर्फ २० हजार, १० हजार र ७ हजार, आधारभूत तह १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । आधारभूतमा प्रथम, द्वितिय र तृतियलाई ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरिने स्रोत शिक्षक टंक दाहालले बताउनुभयो ।


उद्घाटनमा विद्यालयहरुको मार्च पास, सांस्कृतिक झाँकीहरु देखाइएको थियो ।
यसैबीच, सागमा कास्यपदक जित्ने खजुराका दुई खेलाडीलाई सम्मान गरिएको छ । सोनु भट्ट र दिपा गुरुङले जुडोमा कास्य जितेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !