कर्णालीका मुख्यमन्त्री र नेपालगञ्जका मेयरको एउटै बोली

नेपालगञ्ज – ‘मन्त्रीज्यू, सकारात्मक हुनुस् । बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिसाउन सहयोग गरिदिनुस्,’ नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई सम्बोधन नै गरे भन्नुभयो ।
पुस २५ गते नेपालगञ्जमा प्रदेश युवा सम्मेलनको उद्घाटन हुँदा मेयर राणाले केहीबेर युवाको कुरा गरेर अरु सबै समय बाँके र बर्दियालाई कर्णालीमा मिसाउदा हुने फाइदाका बारेमा प्रकाश मार्नमा खर्चिनुभयो । ‘मलाई बोर्ड बैठकमा जान हतार छ’ भनेर पहिले नै बोलेका मेयर राणाले ‘हतार छ, हतार छ’ भन्दा भन्दै बाँके र बर्दियालाई कर्णालीमा मिसाउनु पर्ने कारणहरु खुलाउनुभयो । त्यो दिन बोर्ड बैठक त थियो नै, अरु बेला पनि कार्यक्रममा आफ्ना कुरा राखेर हिड्ने मेयर राणाको बानीजस्तै छ ।
सामाजिक विकास मन्त्रीसामु मेयर राणाले बाँके र बर्दियालाई कर्णालीमा मिसाउदा बलियो प्रदेश किन हुन्छ भन्ने खुलाउनुभयो । बाँके र बर्दिया कर्णालीमा मिसिदा चाइहनादेखि भारतसम्म जोडिन्छ । कर्णालीको पानी, जडीबुटी, फलफूल, विजुली अनि बाँके र बर्दियाको खाद्यान्न, नेपालगञ्जको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारहरु जोडिन्छन् ।
त्यही दिन मिडियाहरुमा नेकपाका अध्यक्ष प्रचण्डले बाँके र बर्दियालाई कर्णालीमा मिसाउनु पर्ने धारणा राखेको समाचारहरु आएका थिए । त्यही अभियानमा लागेका मेयर राणा खुशी नहुने त कुरै भएन । सोझै भनिदिनुभयो, ‘हामीलाई ५ नम्बर प्रदेशमा बस्न मन छैन ।’
मेयर राणाको कुरा सुनेका सामाजिक विकास मन्त्री बरालले आफूले बोल्दा त्यसबारेमा कुनै प्रतिक्रिया दिनु भएन । सायद बोल्ने मान्छे मेयर राणा त्यहाँ नभएर हो कि ?
हिजो (पुस २७) कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपचारको सिलसिलामा नेपालगञ्ज आउनु भएको थियो । यहाँका व्यापारीहरुसँग भेटमा मुख्यमन्त्री शाहीले बाँके र बर्दियालाई कर्णालीमा स्वागत गर्न आतुर रहेको र त्यसको लागि संयुक्त दबाब आवश्यक रहेको बताउनुभयो । बाँके र बर्दिया कर्णालीमा वर्षौदेखि मध्यपश्चिमका नाममा मिलेर बसेका थिए । संघीयताले बाँके र बर्दियालाई अर्को प्रदेशमा पा¥यो ।
कर्णालीका मुख्यमन्त्री शाहीको बोली र नेपालगञ्जका मेयर राणाको भनाईहरु मिल्दाजुल्दा छन् । यसको मतलव यी दुई जनाका बीचमा कुराहरु हुन्छन् त ? कसरी जाने भनेर । मेयर राणाले त्यसको पुष्टि गरिदिनुभयो, ‘हाम्रो बीचमा बेलाबेलामा कुरा हुन्छ ।’
कर्णाली प्रदेश बाँके र बर्दियालाई मिसाउन आतुर छ । ठूलो दबाब सिर्जना गरेर ५ नम्बर प्रदेशबाट बाँके र बर्दियालाई कर्णालीमा जान दिने वातावरण बनाउनु पर्नेमा यो अभियानमा लागेकाहरुको बुझाई छ ।
बाँके र बर्दिया ५ नम्बर प्रदेशको पनि ‘खानी’ नै हो । सजिलै छुटिन दिने देखिदैन । ५ नम्बर प्रदेश सरकार प्रवक्ता बैजनाथ चौधरीले कुनै पनि हालतमा बाँके र बर्दिया कर्णालीमा मिसिन नसक्ने प्रतिक्रिया दिदै आउनु भएको छ । प्रवक्ताले बोलेपछि सरकारको धारणा हुन्छ नै ।
यद्यपि, नेकपाका अध्यक्ष प्रचण्डले बोलेको भनेर जसरी बाहिर आएको छ, त्योे कुरा सत्य हो भने त्यसले ठूलो माने राख्छ । त्यसले बाँके र बर्दियालाई कर्णालीमा मिसाउने एकसूत्रीय अभियानमा लागेका मेयर राणालगायतलाई खुशी तुल्याउने स्वभाविक नै हुन्छ ।
ठूलो नेता, ठूला पदमा बसेका अधिकारीहरुबाट बेलाबेलामा यस्ता कुराहरु बाहिर आउदा नेपालगञ्जमा बनेको समन्वय समितिलाई उर्जा थप्न सक्छ ।


error: यो सुविधा उपलब्ध छैन !