कांग्रेसमा नेतृत्वको दौड
शनिबार नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला पत्रकारमाझ पार्टी सभापति शेरबहादुर देउवाप्रति कडा रुपमा प्रस्तुत भएको देखियो ।
नेपाली काँग्रेस भित्रको द्वन्द्वको रुप जे जस्तो होस् सार भनेको नेतृत्वमा को पुग्ने भन्ने नै हो । बदलिंदो परिवेशमा पार्टी भित्र सिद्धान्तका विषयमा कुनै ठोस रुपमा बहस भएको छैन । कार्यशैलीको कुरा गर्ने हो भने विधानमा टेकेर कुनै पनि पार्टी सभापति चलायमान हुन सक्दैन भन्ने सोंच काँग्रेस पार्टीमा हावी छ । यदि त्यसो नहुँदो हो त हिजो शेरबहादुर देउवा सभापति नरहँदा यस्तै विरोध हुने थिएन । आज शेरबहादुर देउवा सभापति हुँदा फेरी अर्कोले यसै गर्दै छन् ।
नेपाली काँग्रेस भित्र पुष ११ को केन्द्रिय समितिको बैठकबाट २०७७ फागुन ७ देखि १० सम्म १४ औं महाधिवेशन गर्ने, विभिन्न विभाग थप्ने, पार्टी विधानका केही धारा निलम्बन गरेको लगायतका निर्णय भएसँगै विवाद बढ्यो । सभापतिले बहुमतको आधारमा एकलौटी निर्णय गरेको आरोप सहित निर्णय सच्याउनु पर्ने भन्दै अर्को पक्षले जिल्ला सभापतिहरुको भेलासम्म गरायो ।
काँग्रेसमा विगतमा पनि यही सोंचले काम गर्दथ्यो, आज पनि त्यही परम्परा छ र नसच्चिने हो भने भोलि पनि यही निरन्तरता हुँदै जाने नै हो । फरक मात्रै के हो भने पात्र बदलिने छन् ।
एकथरी अर्थात सभापति शेरबहादुर देउवाले पटक–पटक केन्द्रिय समितिको बैठक डाक्ने अनि अर्को समूहले त्यसलाई बहिष्कार गर्ने । माछो–माछो भ्यागुतो गरिरहेका थिए, नेपाली काँग्रेसका नेताहरु । अझ केन्द्रिय सदस्यहरु भनौं । त्यसमा थपिए केही थान जिल्ला सभापतिहरु पनि । नेता तथा कार्यकर्ताहरु पनि यसलाई आसन्न महाधिवेशनको तयारीका रुपमा लिइरहेका छन् ।
पार्टी भित्र समूहहरु हिजो पनि थिए, आज पनि छन् र भोलि पनि रहि नै रहने
छन् । जुन सुकै पार्टीमा जहाँसुकै यस्तो हुन्छ नै । तर, चुरो कुरा न्युनतम सहमति र विधान अनुसार चल्ने कि नचल्ने भन्ने हो ।
गएका केही हप्ता काँग्रेसको आन्तरिक विवादले धेरै चर्चा पायो । केन्द्रिय समितिको विषयलाई केही जिल्ला सभापतिहरुमार्पmत जिल्ला तहमा विस्तार गरिएको छ । कुरा त महासमितिको पनि नउठेको होइन । संगठन विस्तारमा जानु पर्ने समयमा पार्टीको गुट विस्तार भइरहेको स्पष्ट देखिन्छ । एक थरिहरु जिल्ला पार्टी सभापतिहरुलाई केन्द्रिय कार्यालयमा भेला गराएर सभापतिलाई तर्साउन खोजे भने अर्का थरी सके त्यो रोक्ने नसके कारबाहीको डर देखाउने, त्यसो पनि नभए फेरी सहमतिको प्रयासमा जाने । यी सबै हतकण्डा काँग्रेस भित्र लागु भइरहने प्रक्रिया हुन् ।
नेपाली काँग्रेसको महाधिवेशन जति–जति नजिकिंदै जान्छ त्यति नै यस्ता घटनाक्रमहरु तिव्र रुपले विकसित हुँदै जान्छन् । हिजो पनि शेरबहादुर देउवा सहितको समूहले भागवण्डा मागेकै थिए । जुन ६० र ४० को अहिले कुरा उठ्छ त्यो उतिबेलादेखि नै चल्दै आएको नजिर हो । एक पटक पार्टी विभाजन सम्म भएको घटनाका साक्षी काँग्रेस नेता तथा कार्यकर्ताहरु स्वयं आफु नै छन् । अहिले पनि कतै ४९ त कतै ४० प्रतिशतको भागवण्डाको कुरा चलि नै रहेको छ । पार्टी भित्र प्रतिपक्षमा रहदा अहिलेका सभापति देउवा समूहका एकल झैं नेता थिए । अहिले रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला अलि धेरैले भागवण्डामा आफ्नो भाग खोज्दा समस्या अलि पेचिलो बनेको जस्तो देखिन्छ । यो रुपको मात्रै फरकता हो, सार भने एउटै हो ।
कति जना जिल्ला पार्टी सभापतिहरु कसको पक्षमा वा विपक्षमा भन्दा पनि मूल कुरा नयाँ नेतृत्वमा को पुग्ने भन्ने विषय तिर लागौं । यो विषय त्यतिबेलासम्म चलिनै रहनेछ, जतिबेला महाधिवेशनको चुनाव हुँदैन । तर, को बलियो उम्मेद्वार हुन सक्ला भन्ने विषय भने अन्तिम समयमा बन्ने समीकरणमा भर पर्ने देखिन्छ । यदि यही अवस्था रहि रहने हो र सभापतिले आाफु फेरी सभापति बन्न चाहने हो भने देउवा नै सभापतिका बलिया उम्मेद्वार हुन् ।
तर, अर्को समूह अर्थात रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइरालाहरु एक ठाउँमा आउने हो भने प्रतिष्पर्धा रोमाञ्चक हुन जाने देखिन्छ । यो त्यति सहजिलो विषय छैन, असम्भावना पनि छैन । पहिले त पौडेलले कोइरालाहरुलाई वा कोइरालाहरु पौडेललाई मानेर जान्छन् वा जाँदैनन् भन्ने नै कुरा छ । दोस्रो कोइरालाहरु पनि कुन कोइरालामा सहमति जुटाउने हुन् अनि अर्को कुरा अर्जुननरसिंह केसी जसरी १३ औं महाधिवेशनमा देउवा खेमामा गएका थिए, फेरी पुरानै समूहमा फर्किए केसी । उनी लगायत प्रकाशमान सिंह जो १२ औं महाधिवेशनमा खेमा बदलेका थिए, त्यसैगरी डा. मिनेन्द्र रिजाल, डा.रामशरण महत कसको नाममा के सहमतिमा पुग्छन् आफैमा अन्यौलता देखिन्छ । यी नेताहरुले त जसोतसो सहमति जुटाए भने जिल्लामा हुने ध्रुविकरणलाई सम्हाल्न काँग्रेसमा पैसाको खेल शुरु हुन जान्छ । त्यतिबेला काँग्रेस विचार, नीति र सिद्धान्तबिहीन हुन्छ । यस्तो कैयौं पटक भइसकेको अभ्यास काँग्रस भित्रको हो । जसका लागि काँग्रेस नेता तथा कार्यकर्ता हरदम तयारी अवस्थामा रहेका हुन्छन् ।
यो पटक नेपाली काँग्रेसको आन्तरिक ध्रुविकरणले के नेतृत्वमा बदलाव ल्याउला त ? यो सामान्य कार्यकर्ताहरुको जिज्ञासा त हो तर नेतृत्वमा को पुग्ला अन्यौलता कायम छ । यदि महामन्त्री डा.शशांक कोइरालाले सभापतिमा उम्मेद्वारी दिए भने अर्का कोइराला, पौडेल र सिटौला लगायतको एउटा पंक्ति त्यो स्वीकार्न सक्छ त ? भन्ने अहम् सवाल छ । बीपी कोइरालाका सुपुत्र डा. शशांकको पार्टी भित्र संगठनसँग सँगै लिगेसीको आधार मजबुत देखिन्छ । केवल उनी माथि आरोप छ कि उनी चाहिएको बेला बोलिदिंदैनन् भन्ने । उनकै समूहकाहरुको आरोप छ कि लगातार सभापति शेरबहादुर देउवाको समर्थनमा नै रहे उनी । अक्सर सभापतिलाई कमजोर बनाउनु हुँदैन भन्ने लविङ्गमा रहन्छन् डा. शशांक ।
अर्का नेता डा.शेखर कोइराला सभापतिमा उम्मेद्वारी दिने विषयमा देश दौडाह गरि नै रहेका छन् । उाी वैचारिक बहसका लागि तयार रहन्छन् । संगठनमा प्रत्यक्ष नभए पनि दरिलो प्रभाव राख्छन् शेखर । शेखर अन्तर्राष्ट्रिय समुदायबीच सुपरिचित अनुहार पनि हो । गतिशील छन् शेखर । लामो समय विराटनगरको कोइराला निवासमा बसेर राजनीतिक सूत्र सिकेका शेखरलाई कार्यकर्ताको साथ भन्दा पनि नेताहरुले नै बाइपास गरिरहेको देखिन्छ । यो अवस्थामा वरिष्ठ नेता पौडेल के गर्लान् त ? अनि अर्का नेता तेस्रो धार बनाएर अघि बढिरहेका सिटौलाको इच्छा के छ ? सुनिन्छ, पौडेल र सिटौलाबीच अहिले पनि सम्बन्धमा उति गतिलो छैन । यी अनुत्तरित प्रश्नहरुले काँग्रेस भित्रको ध्रुविकरण कुन तहमा कता जाँदैछ स्पष्ट छैन । यतिबेला विजय गच्छदार उतिबेलाका खुमबहादुर खड्काको जस्तो स्थितिमा रहन सक्ने देखिन्छ । स्मरणयोग्य यो छ कि १३ औं महाधिवेशनमा जसरी महामन्त्रीमा डा.कोइरालाको जित सुनिश्चित झैं थियो ।
अब रह्यो कुरा युवा भनिने अर्को पुस्ताको, ती अक्सर आफ्नो सुरक्षित पदका लागि समूह फेरवदलमा जतिबेला जहाँ पनि छिर्न, अट्न वा छोड्न सक्छन् । धनराज गुरुङ्ग, चन्द्र भण्डारी, शंकर भण्डारी, उमाकान्त चौधरी, गगन थापा, प्रदीप पौडेल, बद्री पाण्डे सहितकाहरु ।
नीतिगत रुपमा तय भएको दस्तावेज भनेको गतवर्षको महासमितिको बैठकमा जारी दस्तावेज नै हो । तर, ती विषयमा पनि केन्द्रिय समितिको वैठकले अंकुस लगाइसकेको छ । कतिपय विधानमा ब्यवस्था भएका धाराहरु निलम्बित छन् भने कतिपय आवश्यकताका आधारमा थप भएका छन् । त्यसको वैधताका विषयमा काँग्रेस गम्भिर रहँदैन ।
देश भित्र भएका विभिन्न चुनावमा लगातार हार ब्यहोरिरहेको नेपाली काँग्रेसलाई मुख्य चुनौती भनेको नेकपाको संगठनका तुलनामा आफ्नो संगठन मजवुत गर्नु हो । त्यो दिशामा काँग्रेस घोत्लिएको देखिंदैन । अझं जनताबीचमा आफ्नो जनता लक्षित कार्यक्रमबारे स्पष्ट पार्ने चुनौती पनि छ काँग्रेसलाई, त्योे पाटोमा काँग्रेसले उति ध्यान दिएको देखिंदैन ।