युवालक्षित कार्यक्रम ल्याउदै प्रदेश सरकार

नेपालगञ्ज – ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले हरेक तहको नीति निर्माण र कार्यक्रममा युवालाई समेटेर जानु पर्ने बताउनु भएको छ ।
नेपालगञ्जमा शुरु भएको दुई दिने प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै मन्त्री बरालले युवा भनेका देशका कर्णधार भएकाले हरेक तहले उनीहरुलाई समेटेर रोजगारमूखी कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।
मन्त्री बरालले प्रदेश सरकारले युवालाई उद्यमी बनाउने योजना ल्याउने तयारी रहेको जानकारी दिदै मुख्यमन्त्रीसँग युवा भन्ने कार्यक्रम निकट भविष्यमा शुरु गर्ने बताउनुभयो । मन्त्री बरालले भन्नुभयो, ‘युवाको क्षमता विकास गरेर जादैछौं । युवालाई उद्यममा जोड्छौं । तीन वर्षमा १५ हजार युवालाई तालिम र रोजगारी दिने रणनीति बनाएका छौं, तालिम लिने बित्तिकै रोजगार दिलाउँछौं ।’
प्रदेश सांसद कृष्णा केसी, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी वीरबहादुर वली, गैसस, बाँकेका अध्यक्ष नमस्कार शाहलगायतले विकासको आधार युवा भएकाले उनीहरुलाई साथमा लिएर हिड्न जरुरी रहेको बताउनुभयो । दुई दिने सम्मेलनमा विभिन्न व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गर्दैछन् ।


error: यो सुविधा उपलब्ध छैन !