कता होलान् १२ हजार क्षयरोगी ?

नेपालगञ्ज – एक यात्रामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सागरकुमार राजभण्डारीले नेपालमा १२ हजार क्षयरोगी समाजमा लुकेर बसेको सुनाउनुभयो । नेपालमा वर्षेनी ४५ हजार क्षयरोगी पत्ता लाग्दा ३३ हजार मात्रै सम्पर्कमा आउदा रहेछन् ।
डा. राजभण्डारीका अनुसार, एकजना क्षयरोगीले वर्षमा १० देखि १५ जनालाई रोग सार्छ । डा. राजभण्डारीको कुरा सुन्दा त समाजमा लुकेर बसेका क्षयरोगी ‘खतरनाक’ लाग्यो । उनीहरुबाट जो सुकै जोखिममा पर्न सक्छन् ।
केन्द्रका निर्देशक डा. राजभण्डारी, मेडिकल अफिसर डा. प्रमोद भट्टराई, दामियन फाउण्डेसनका डा. सुशील कोइरालाको कुरा सुन्दै जादा त प्रदेश ५ का मानिस क्षयरोगको बढी जोखिममा रहेको थाहा भयो । किनभने, अहिलेसम्म देखिएका क्षयरोगीमध्ये एक तिहाई यही प्रदेशमा रहेछन् । भेटिने बढी यही प्रदेशमा छन् भने लुकेका पनि यही धेरै होलान् । अनि, सार्ने संभावना बढी यही नहुने त कुरै भएन ।
क्षयरोग नियन्त्रणमा सरकारलाई सबैभन्दा ठूलो चुनौती पनि लुकेका रोगीलाई बाहिर ल्याउनु रहेछ । केन्द्रका निर्देशक डा. राजभण्डारी भन्दै हुनुहुन्थ्यो, ‘लुकेका क्षयरोगीलाई छिटो उपचारमा ल्याउनु ठूलो उपचार हो ।’
क्षयरोग पनि साधारण र कडा खालका हुन्छ । देशभरमा वर्षमा ४५ हजार नयाँ क्षयरोगी थपिने कुरा गर्दा १५ हजार कडाखालका बहुऔषधी प्रतिरोधी अर्थात एमडीआर टिबीका बिरामी थपिदो रहेछ । तीमध्येमा ६ सय मात्रै सम्पर्कमा आएको पाइयो ।
क्षयरोगबाट वर्षमा १८ देखि २२ जनाको मृत्यु हुने गरेको छ । सरकारले क्षयरोग नियन्त्रणमा ठूलो लगानी गरिरहेको छ । डा. राजभण्डारी भन्दै हुनुहुन्थ्यो, जनताको घरदैलोमा पुग्ने पहिलो कार्यक्रम नै यही हो ।’ त्यसका बाबजुद किन क्षयरोग नियन्त्रण तथा न्यूनीकरण हुन सकेको छैन ? निको हुन क्षयरोगीले साह्रै अनुशासन अपनाउनु पर्दोरहेछ । सामान्य क्षयरोगीले ६ महिना औषधी खाए हुन्छ । कडा खालका रोगीले ९ देखि २० महिना औषधी खानुपर्छ । औषधी छुटाएर खाने होइन, नियमित र चिकित्सकको अगाडि नै खानु पर्छ । औषधी त सरकारले निशुल्क नै दिन्छ ।


गरिवी, चेतनाको कमी, रोग लुकाउने प्रवृत्ति, सामाजिक कुरितीका कारण क्षयरोगको निदानमा समस्या पारिरहेको छ । सबैलाई थाहा छ, क्षयरोग सरुवा रोग हो । सर्ने भएकाले नै क्षयरोग लागेका व्यक्तिलाई भेदभाव गरेको पाइन्छ । सरकारले निशुल्क औषधी दिन्छ, नियमित खादा क्षयरोग निको हुन्छ भन्ने प्रचार प्रसार दूरदराजमा पुग्न सकेको छैन । सरकारले माथिल्लो कोटीको स्वास्थ्य संस्थाबाट दिदै आएको औषधी अहिले आएर स्वास्थ्य चौकीतिर सार्ने प्रयास गरेको छ । यसको शुरुवात बाँकेबाट गरिएको छ । अहिले आएर विरामी केन्द्रित उपचार पद्धति अपनाउन थालिएको छ । नजिकैको स्वास्थ्य चौकीबाट सहज पाइने र नियमित औषधी खादा निको हुन्छ भन्ने जानकारी गाउँका मान्छेले थाहा पाउदा नै लुकेर बसेका १२ हजार सम्पर्कमा आउन सक्छन् । भेदभाव पनि कम हुन सक्छ ।
२५ वर्षदेखि क्षयरोगीलाई औषधी शुरु गरिएको छ । अहिलेसम्मको अवस्था हेर्दा ७१ प्रतिशत पूर्णरुपमा निको भएका छन् । १३ प्रतिशतले बीचमै औषधी खान छोड्छन् । औषधी खाना टाढा जानु पर्ने, साइड एफेक्ट र केहीले अलिअलि निको भएपछि औषधी खाना छोडेको पाइन्छ ।
बाँकेमा २८ जना कडाखालका क्षयरोगीले औषधी खाइरहेका छन् । सबैखाले क्षयरोगी आठ सय बढी छन् । आर्थिक वर्ष २०७५-७६ मा ८ सय ४ जना बिरामी देखिए । ०७४-७५ मा ८ सय ४० जना थिए । बाँकेमा एक हजार १५ जना बिरामी रहेको आकलन रहेको छ । त्यसमा करिव दुई जना हराइरहेका छन् ।
स्वास्थ्य चौकीबाट नै औषधी दिने कामको शुरुवात उढरापुर र परसपुरबाट गरिएको छ । तत्काललाई उढरापुरका अयुव शेष र परसपुरकी सैदुला बेहनाले सेवा लिएका छन् । दैनिक नेपालगञ्जमा आएर औषधी खाएर जानु पर्ने दुःखबाट यी दुई जना मुक्त भएका छन् । जिल्लाका अरुले पनि यो सुविधा पाउँदैछन् ।


error: यो सुविधा उपलब्ध छैन !