२७ गते माघ मिलन कार्यक्रम

नेपालगञ्ज – नेपालगञ्जमा माघ मिलन कार्यक्रम गरिने भएको छ ।
पुस २७ गते नेपालगञ्जमा माघ मिलन कार्यक्रम गरेर माघे संक्रान्ति मनाउने तयारी भएको हो । थारु समुदायको हकहित र अधिकारका क्षेत्रमा काम गर्ने एक दर्जन संघ संस्थाको संयुक्त आयोजनामा माघ मिलन कार्यक्रम गर्न थालिएको हो ।
थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारुको अध्यक्षतामा बसेको बैठकले यही पुस २७ गते नेपालगञ्जमा माघ मिलन कार्यक्रम गर्ने निर्णय गरेको थारु कल्याणकारिणी सभा नेपालगञ्ज उपमहानगरपालिकाका नगर सभापति बासमति थारुले बताउनुभयो । माघ मिलन कार्यक्रममा थारु समुदायको सांस्कृतिक नाचहरु झुम्रा नाच, लठ्ठहवा नाच, हुरदुङग्वा नाच, छोक्रा नाच, मयुर नाच प्रस्तुत गरिने आयोजक टिमका संयोजक विनोद थारुले बताउनुभयो ।
माघ मिलन कार्यक्रममा थारु परिकारहरु ढिक्री, घोघी, खुर्सानीको चटनी, बंगुरको मासु, जाँडको स्वाद समेत लिन सकिने छ । माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानीय थारु कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने थारुले जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा थारु आदिवासी व्यवसायी संघका महासचिव पूर्णबहादुर थारु, जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौरा, थारु पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष भगतराम थारु, थारु महिला विकास केन्द्रका अध्यक्ष ललिता थारु, थारु कल्याणकारिणी सभा नेपालगञ्ज उपमहानगरपालिकाका नगर सभापति बासमति थारु, थारु विद्यार्थी संघका सल्लाहकारद्वय जगतराम चौधरी, अविनाश चौधरी, थारु कल्याणकारिणी सभाका नेपालगञ्ज उपमहानगरपालिकाका नगर सचिव शम्भु प्रसाद थारु, मुक्तकमलरी विकास मञ्च बाँकेका अध्यक्ष पार्वती थारु, राष्ट्रिय थारु कलाकार मञ्च बाँकेका सचिव विश्वसागर परियार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सफल बनाउन विभिन्न समिति समेत गठन गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !