आमा समूहलाई सक्रिय बनाइने

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आमा समूहलाई सक्रिय बनाइने भएको छ । सुरक्षित सुत्केरी गराउन नियमित गर्भ जाँच गराउन प्रोत्साहन गर्ने, खोप सेवा, स्वास्थ्य शिक्षा, परिवार नियोजनजस्ता विभिन्न सेवाहरुलाई प्रभावकारी बनाउन आमा समूहलाई परिचालन गरिने भएको हो ।
गाउँपालिकामा ५९ वटा आमा समूहहरु रहेका छन् । गाउँपालिकाले २०७८ सालसम्म घरमा बच्चा जन्माउने कार्यलाई शून्यमा झार्ने अभियान अन्तर्गत संस्थागत सुत्केरीको कार्यलाई विशेष जोड दिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । गाउँपालिकाका स्वास्थ्य शाखाले शुक्रबार आयोजना गरेको प्रथम एकीकृत चौमासिक समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले गाउँपालिकाको स्वास्थ्य सेवालाई प्रभावकारी तथा सुदृढ बनाउनमा आमा समूहको भूमिका महत्वपूर्ण भएको भन्दै स्वास्थ्य सेवा अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा खोप, संस्थागत सुत्केरी, परिवार नियोजन, पोषण, टिबी, स्वास्थ्य सरसफाईलगायतका बारेमा व्यापक छलफल तथा समीक्षा गरि आएका समस्यालाई समाधान गर्न समुदायस्तरमा तथ्याक संकलन गरि त्यसका आधारमा कार्ययोजना निर्माण गर्ने स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।
गाउँपालिकामा चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म ४ सय महिलाहरु स्वास्थ्य संस्थामा सुरक्षित बच्चा जन्माएका छन् । ४६ जनाले घरमै बच्चा जन्माएको तथ्यांक छ । समीक्षा कार्यक्रममा गाउँपालिका वार्ड नं. १ देखि ६ सम्म रहेका विभिन्न स्वास्थ्य संस्थाका इन्चार्जहरुले आ—आफ्नो प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धिताल लगायतले बोल्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !