विचरा शहीद, सम्झिने कोही भएनन्

नेपालगञ्ज – कुनै दिन बाँकेमा शहीद दिवस भब्यताका साथ मनाइन्थ्यो । सरकारी कर्मचारीलाई उपस्थित हुन जोड गरिन्थ्यो । सरकारी कर्मचारीलाई दिवसका अवसरमा हुने कार्यक्रममा उपस्थिति जनाउन अनिवार्यजस्तै थियो ।
कर्मचारीहरुलाई कम्ती सास्ती थिएन, त्यतिबेला । जो दिवसमा आउदैन, उसको नाम केन्द्रमा सिफारिस गरिन्छ भन्ने उर्दी नै थियो । कर्मचारीहरु प्रभातफेरिमा छुटेपनि भाषण भइरहदा हाजिर लगाउन हस्याङ फस्याङ गर्दै आउथे ।
व्यवस्था फेरियो । शहीदको योगदानलाई बिर्सिने काम हुँदै गयो । सरकारी कर्मचारीलेसमेत शहीदलाई बिर्सिए । फेरि कुरा आउला, शहीद भनेका सरकारी कर्मचारीका लागि मात्रै हो र ? शहीदको रगतले सबैलाई बराबरी हक दिलाएको छ । यति हो कि गाउँको किसानले नसम्झिएपनि सरकारी नुन खानेले त सम्झिदिएको भए हुन्थ्यो भन्ने नै हो ।
बाँकेमा यसपाली केन्द्रबाट कुनै पत्र नै आएन । पत्र नआएकाले सरकारी तवरबाट शहीद दिवस मनाइएन । गतवर्ष पत्र आएको थियो । जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम भएको थियो । फेरि शहीद दिवसमा पहिला बिदा हुन्थ्यो । अहिले बिदा छैन ।
शहीदको रगतले आएको प्रजातन्त्रमा मस्ती त नेताहरुले गरेका छन् । उनीहरुले पनि सम्झिएको पाइएन । गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्दले प्रजा परिषद् खोलेर प्रजातन्त्रका लागि लड्दा ज्यान गुमाएका थिए । ती अमर शहीदलाई सम्झिने यतिबेला कोही भएनन् । सरकारले नै दिवस मनाउनु भनेर परिपत्र नपठाइदिएपछि जिल्लाका अधिकारीहरुले पनि तनाव लिन चाहेनन् ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले परिपत्र नआएकाले दिवस नमनाइएको बताउनुभयो । ‘गतवर्ष पत्र आएको थियो । यसपाली त पत्र पनि आएन, श्रीवास्तवले भन्नुभयो, आफ्नै तवरले सम्झिने काम भयो । कार्यक्रम चाहि भएन ।’


error: यो सुविधा उपलब्ध छैन !