पायक गर्ने ठाउँमा राजधानी कि कर्णालीमा मिसिने !
नेपालगञ्ज – बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने आन्दोलन गर्न केही महिनादेखि समन्वय समिति बनेको छ । समन्वय समिति बनेपछि आधा दर्जन पटक बैठक र छलफल भइसकेको छ । कर्णालीमा मिसिदा हुने फाइदाको जोड घटाउ निकालिएको छ ।
समन्वय समिति बन्दा राप्रपाबाहेकको पार्टीगत निर्णय छैन । नेकपा र कांगे्रसका नेताहरु समन्वय समितिमा रहेपनि उनीहरु पार्टीगत निर्णयबाट आएका छैनन् । तर, जति पनि बैठक र छलफल भएका छन् पार्टी नेतृत्वलाई अगाडि सार्नु पर्ने कुरा उठेकै छ ।
नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा सोमबार पार्टीका जिल्ला अध्यक्षहरुको बैठक बोलाइयो । पार्टीका जिल्ला नेतृत्वहरु बैठकमा आए । बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनका लागि अहिलेसम्म भएका गतिविधिहरु जानकारी गराइयो । जिल्ला नेताहरुले सल्लाह दिए कि यो गम्भीर विषय भएकाले सबै दलको एकता हुनुपर्छ । बैठकमा केहीले राजधानी पायक पर्ने ठाउँमा हुनु पर्नेमा जोड दिए । त्यो भनेको भालुवाङतिरको कुरा थियो । पायक पर्ने ठाउँमा राजधानी नभए अरु सोचौला भनियो । एकथरीले होइन, राजधानी जहाँसुकै होस् कर्णालीमा मिसिनु पर्छ भन्ने लाइनको कुरा गरे । मधेसवादी दलले कर्णालीमा जाने कुराको ठाडै इन्कार गरे ।
बुटवल राजधानी (अहिलेसम्म अस्थायी) हुँदा बाँके र बर्दिया मर्कामा परेको कुरा त सबैले स्वीकार्छन् । सबैको कुरा बुझ्दा ‘मिसन’ अलिकति नजिक र टाढाको देखियो । राप्रपाका नेता एवं नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा दाङसम्म राजधानी आएपनि बाँके र बर्दियालाई कर्णालीमा मिसिदा फाइदा हुने तर्कमा अडिक रहिरहे । नेकपाका नेता आइपी खरेल अझै पायक पर्ने ठाउँको कुरा गरिरहे । पायक पर्ने ठाउँमा भएन भने सोचौला भन्ने खरेलको भनाई आयो । कांग्रेसकी जिल्ला अध्यक्ष किरण कोइरालाबाट बाँके र बर्दियाको हितका लागि सबै एकजुट हुनु पर्ने राय आयो । यसमा दाङसम्म राजधानी आइहाल्यो भनेपनि बाँके र बर्दियालाई त्यो फाइदा हुन्छ कि कर्णालीतिर जादा राम्रो हुन्छ कांग्रेस महिन छलफल गर्न तयार देखियो । संघीयताको विरोध गर्ने पार्टी राजमोका कृष्ण पाण्डेको नेकपाले नेतृत्व नलिएसम्म कुनै पनि काम पूरा नहुने राय थियो । समाजवादी पार्टीका अध्यक्ष कमरुद्दिन राईको बाँके र बर्दियालाई कर्णालीमा मिसाउने कुराको ठाडै इन्कार थियो ।
पार्टीका जिल्ला नेताहरुकै बुझाई फरक फरक आएपछि अब आन्दोलन हुन्छ कि हुँदैन ? आन्दोलन भइहालेमा पायक पर्ने ठाउँमा राजधानीका लागि हुन्छ कि कर्णालीमा मिसिनका लागि हुन्छ ? अन्यौल देखिएको छ । तर, नेताहरु फेरि बसेर यस विषयमा विस्तृत छलफल गर्ने भनेका छन् । नेताहरुले पहिला पायक पर्ने ठाउँमा राजधानी भए हुने कि बाँके र बर्दियालाई कर्णालीमा मिसाउने ? स्पष्ट धारणा बनाउन जरुरी देखियो । पार्टीका नेताहरुले जे सुकै गरुन् जति नेता तथा कार्यकर्ताहरु आउँछन्, उनीहरुलाई लिएर बाँके र बर्दियालाई कर्णालीमा मिसाउने आन्दोलन गर्ने कि भन्ने समन्वय समितिमा रहेकाहरुको भनाई रहेको पाइन्छ ।