जंगली हात्ती आतंक, केही घर भत्कायो

बर्दिया (रासस) – बर्दियाको ठाकुरबाबा नगरपालिका–६ वनखेत गाउँमा केही दिनयता जंगली हात्तीले आतङ्क मच्चाउँदै आएको छ ।
हात्तीले ती गाउँमा लगाइएको बालीनाली नष्ट पार्नुका साथै सर्वसाधारणको घर भत्काउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । हात्तीको डरले उनीहरू रातभर जाग्राम बस्न थालेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली हात्तीले गएराति तीन वटा घर भत्काइदिएको छ ।
ठाकुरबाबा नपा–६ वनखेतका चन्द्रकली आचार्यको कच्ची टिनले छाएको घर, जेगरुपी थारुको टिनले छाएको कच्ची घर र कुटु थारुको खरले छाएको कच्ची घर भत्काउनुका साथै घरमा भण्डारण गरी राखिएको धानसमेत खाएर नष्ट गरेको छ ।
यसैगरी सोही गाँउका तुलाराम पौडेलको खरले छाएको भान्सा घर भत्काएर घरमा भण्डारण गरी राखिएको चामलसमेत खाएर नष्ट गरेको पीडितले बताएका छन् ।
जंगली हात्तीको आतङ्कबाट करीब दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएको प्रहरीको अनुमान छ ।
हात्तीले गाउँमा पसेर सर्वसाधारणको घर भत्काउन र अन्नपात खान थालेपछि अहिले त्यहाँको जनजीवन त्रसित बनेको स्थानीयवासीको भनाइ छ ।


error: यो सुविधा उपलब्ध छैन !