एक र आठ नम्बर विजयी

नेपालगञ्ज – दोस्रो अन्तर वडा क्रिकेट प्रतियोगितामा सोमबार वडा नम्बर एक र वडा नम्बर आठले जीत निकालेका छन् । एक नम्बरले ६ नम्बरलाई ९ विकेट र आठ नम्बर वडाले वडा नम्बर चारलाई दुई विकेटले पराजित गरेका हुन् ।
एक नम्बर र ६ नम्बर बीचको खेलमा टस जितेर ब्याटिङ गरेको ६ नम्बर वडाले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३७ रन बनाएको थियो । टोलीका लागि दिपेश बर्माले ४० रन, अफजल खानले २३ र प्रनित थापामगरले १४ रन बनाए । दिपेशले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए । अफजलले २७ बलमा २ चौका र १ छक्का हाने । एक नम्बर वडाका सुगम विसीले ३ विकेट र सिद्धान्त राज शाहीले २ विकेट लिए ।
जवाफमा प्रज्वल शाहीले उत्कृष्ट ब्याटिङ गरेपछि एक नम्बर वडाले १८.२ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । म्यान अफ द म्याच प्रज्वलले ७० रन र सिद्धान्त राज शाहीले ३१ रन बनाए । प्रज्वलले ६२ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । ६ नम्बरका दिपेश बर्माले १ विकेट लिए ।
अर्को खेलमा टस जितेर ब्याटिङ गरेको चार नम्बर वडाले ६ विकेटको नोक्सानीमा १ सय १६ रन जोडेको थियो । टोलीका लागि विश्वास श्रेष्ठले सर्वाधिक ६३ रन, सुनिल भण्डारीले १६ र बुद्ध अधिकारीले १४ रन जोडे । विश्वासले ३८ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै अर्धसतक प्रहार गरेका थिए । आठ नम्बर वडाका अनुपम सिंहले ३ विकेट लिए । उनले २ ओभरमा ८ रनमात्र दिएका थिए ।
जवाफी ब्याटिङमा अनुपम सिंहले ३४ रन, मोहम्मद सल्मानले २८ र फर्दिन खानले १५ रनको योगदान गरे । म्यान अफ द म्याचको पुरस्कार जितेका अनुपमले २५ बलमा ५ चौका प्रहार गरेका थिए । चार नम्बरका निर्मल ओलीले ३ विकेट र आकाश विष्टले २ विकेट लिए । खेलमा मोहम्मद सलमानले म्याजिक अफ द मुभमेन्टको पुरस्कार पाए । उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ अध्यक्ष अयुव सिद्धिकी, साइन रेसिंगा विकास बैंकका क्षेत्रीय निर्देशक तेज रावल र वडा नम्बर सातका अध्यक्ष जुमन खाँले पुरस्कार दिएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !