फोहोरबाट फल्दै मोहर

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले छ दशकसम्म फोहोर फाल्ने ठाँउकै खोजीमा समय बितायो । ‘ल्याण्डफिल साइट’ बनाउने उसको सपना गत भदौमा आएर पूरा भयो । एशियाली विकास बैंक (एडीबी) ले मज्जाको ल्याण्डफिल साइट बनाइदिएर ठूलो गुन लगायो ।
फाल्ने ठाउँ नभएर बजारको फोहोर नउठ्ने समस्या त अन्त्य भयो नै । एडीबीले उपमहानगरपालिकालाई ‘फोहोरबाट मोहर फलाउन सकिने’ सपना देखाइ दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले त्यो सपना पूरा गर्न व्यवस्थापन मिलाए पुग्छ । संरचनाहरु त एडीबीले बनाइदिएकै छ ।
ल्याण्डफिल साइटमा पुग्ने जो कोहीले फोहोरबाट मोहर फल्दै गरेको देख्न सक्छन् । मुखमा मास्क लगाएका कर्मचारीले खुरुखुरु मोहर टिपिरहेकोजस्तो लाग्छ । नेपालगञ्ज बजारबाट संकलित भएको दैनिक ३२ टन (औसतमा) फोहोरलाई १७ वटा गाडीले ल्याण्डफिल साइटमा पु¥याउँछन् । गाडीले लगेर फोहोर खसाएपछि जेसीभीले त्यसलाई फिजाउँछ । कर्मचारीहरुले कुहिने र नकुहिने फोहोरलाई छुट्याउँछन् । सिसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ । अरु कुहिने फोहोरलाई अर्कोतिर । बजरबाट संकलन हुने फोहोरमा ७० प्रतिशत कुहिने हुन्छन् । कुहिने फोहोरबाट (जैविक फोहोर)बाट कम्पोष्ट मल बनाइन्छ । ल्याण्डफिल साइट सञ्चालनमा आइसकेपछि बनेको कम्पोष्ट मल बोरामा जम्मा गरेर राखिएको छ । धेरै बनाएर बिक्री गर्ने ठेकेदार कम्पनीका कर्मचारी शिव लामिछानेले बताउनुभयो । उहाँका अनुसार, सिसा, प्लाष्टिक, बोतल, टायर बेचेर मासिक ३०÷४० हजार रुपैया आम्दानी भइरहेको छ ।


कामै नलाग्ने फोहोरलाई खाल्टोमा गाडिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाई शाखाका अधिकृत अशोक केसीका अनुसार, सात प्रतिशत फोहोर खाल्डोमा गाड्ने गरिएको छ ।
३८ करोडबढीमा बनेको ल्याण्डफिल साइटले नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनमात्रै होइन, पैसा कमाउने बाटो देखाइदिएको छ । हुन त फोहोरबाट मोहर भन्न त सजिलो छ । काम गर्न सजिलो छैन । बजारमा निस्किने फोहोरलाई कम्पोष्ट मल बनाएर बेच्दा साँच्चै नै फोहोरबाट मोहर फल्नेमा दुईमत छैन । फोहोरबाट मोहर फलाउने साधन भने ल्याण्डफिल साइटमा तयार रहेको छ । अब नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्र (साविकको १७ वडा) मात्रै होइन, फैलिएका वडाहरुबाट पनि फोहोर सबै ल्याण्डफिल साइटमा पु¥याएर बढी भन्दा बढी कम्पोष्ट मल बनाउनु पर्छ । थपिएका वडाहरुबाट फोहोर संकलन भएर ल्याण्डफिल साइटमा पुगिसकेको देखिदैन ।


error: यो सुविधा उपलब्ध छैन !