महोत्सवमा विद्यार्थीको आकर्षण सूचना प्रविधि
नेपालगन्ज – प्रादेशिक महोत्सव २०८१ भित्र जारी वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी आइएनजीस्क्रीन क्यान इन्फोटेकको अवलोकनमा विद्यार्थीको आकर्षण बढेको छ ।
क्यान महासंघ, बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेसँग सहकार्य गरेर आयोजना गरेको महोत्सवमा सूचना प्रविधिबारे जानकारी लिन बुुधबार र बिहीबार नेपालगन्जका विभिन्न कलेज र विद्यालयका विद्यार्थी सहभागी भएको क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । प्रविधि कम्पनी तथा संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवर्दनसँगै विशेष छुट र अफर घोषणा गरेको अध्यक्ष जोशी बताउँछन् ।
प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी विश्वविद्यालय-कलेज, कन्सल्टेसी, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ तथा सिसीटीभी सर्विलेन्श प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको थियाे ।
इन्फोटेक अवधिभर कम्पनीले अधिकतम १५–२५ प्रतिशतसम्म छुट र २०० वटा विद्यालयबाट लक्कीड्र बाट १ विद्यालयलाई ७५ इन्चको स्मार्ट बोर्ड उपहार दिने घोषणा गरेको क्यान महासंघ बाँकेका सचिव रमेश क्षेत्री बताउँछन् ।
इन्फोटेकका अवलोकनकर्ताका लागि आइटी पढन चाहने विद्यार्थीहरुलाई १०–१०० प्रतिशतसम्मको छात्रवृत्ति दिने लुम्बिनी विश्वबिद्यालय र नेपालगन्ज क्याम्पसले घोषणा गरेका छन् । महोत्सवमा सूचना प्रविधिका २८ वटा स्टल छन् ।
प्रादेशिक महोत्सवका प्रचार संयोजक डम्बरबहादुर चन्द सूचना प्रविधिका स्टलमा नयाँ नयाँ प्रविधि समावेश गरेकाले युवा र विद्यार्थीलाई बढी भन्दा भन्दा लाभ मिल्ने बताउँछन् । संयोजक चन्द सूचना प्रविधि सम्बन्धीको बारेमा जानकारी लिन चाहने सबैलाई महोत्सव अवलोकन गर्न पनि आग्रह गर्छन् ।