बन्ध्याकरण गर्ने महिलामात्रै !


नेपालगञ्ज – बाँकेमा परिवार नियोजन स्थायी बन्ध्याकरण गर्नेमा धेरै महिला रहेका छन् । स्वास्थ्य कार्यालय, बाँकेले पालिकाहरुमा सञ्चालन गरेको घुम्ती बन्ध्याकरण शिविरमा सेवा लिने महिला धेरै रहेका हुन् ।
स्वास्थ्य कार्यालय, बाँकेका फोकलर्पन देवनारायण उपाध्यायले अहिलेसम्म तीन ठाउँमा गरिएको बन्ध्याकरण शिविरमा ३७ जना महिला र पाँच जना पुरुषले सेवा लिएको जानकारी दिनुभयो । राप्तीसोनारी अस्पताल, बैजापुरमा १४ जना महिला र एक पुरुष, गंगापुरमा ८ जना महिला र तीन पुरुष, आधारभूत स्वास्थ्य केन्द्र राप्तीसोनारीमा १५ जना महिला र एक जना पुरुषले बन्ध्याकरण गरेका छन् ।
बाँकेमा विगतदेखि नै धेरै मिनिल्याप (महिला) हुने गरेको पाइन्छ । पुरुषले भ्यासेक्टोमी अति नै कम गर्छन् । फोकलपर्सन उपाध्यायले पुरुषले बाहिर गएर काम गर्नु पर्छ, अप्रेसन गर्दा कमजोर हुन सक्छ भन्ने मानसिकता रहेको बताउनुभयो । ‘महिलालाई भन्दा पुरुषलाई बन्ध्याकरण गर्न सहज हुन्छ । तन्दुरुस्ती पनि पुरुष छिटो हुन्छ, फोकलपर्सन उपाध्यायले भन्नुभयो, ‘तर पनि बाँकेमा महिलाले नै बन्ध्याकरण धेरै गर्छन् । अझ थारु समुदायमा यस्तो धेरै छ ।’ उपाध्यायले पहाडमा पुरुषले धेरै बन्ध्याकरण गर्ने जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयले मंसीर १४ गतेदेखि पुष २ गतेसम्म जिल्लाका आठ पालिकाको दश ठाउँमा बन्ध्याकरण शिविर सञ्चालन गर्दैछ । शिविरमा उत्साहजनक सहभागिता रहेको छैन । अस्थायी साधनको बढ्दो प्रयोगले पनि बन्ध्याकरण धेरै नभएको आकलन गरिएको छ ।
यस्तो शिविर वर्षेनी हुने गर्दछ । गतवर्ष बाँकेमा १ सय ६६ जनाले बन्ध्याकरण गराएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !