चिसो बढ्दै, आगो ताप्दै स्थानीय

नेपालगञ्ज – बाँकेमा चिसो बढेको छ । चिसो बढ्दै गएपछि यहाँको जनजीवन प्रभावित भएको छ । स्थानीय बासिन्दा आगो तापेर बसेका छन् । नेपालगञ्जको सडकमा जताततै आगो ताप्दै गरेको देख्न सकिन्छ । चिसो बढेसँगै नेपालगञ्ज उपमहानगरपालिकाले दाउरा वितरण गरेपछि स्थानीयले राहत महसुस गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले टोलटोलमा आगो ताप्ने व्यवस्था मिलाएको हो । उपमहानगरपालिकाले दाउरा किनेर वडाध्यक्षको जिम्मा लगाएको छ । वडा कार्यालयले आवश्यकता अनुसार चोक र घनाबस्तीमा आगो ताप्ने व्यवस्था मिलाउने उपमहानगरपालिकाका सूचना अधिकृत शरद पौडेलले बताउनुभयो ।
उपमहानगरपालिकाले १२ चट्टा दाउरा खरिद गरेर वितरण गरेको छ । उपमहानगरपालिकाले यसअघि आफैले चोकचोकमा दाउरा खसाइदिने गरेको थियो । त्यसो गर्दा केहीले दाउरा बोकेर घरतिर लगिदिने हुनाले यसपालीदेखि वडाध्यक्षको जिम्मा लगाएको छ । नेपालगञ्जमा अधिकतम तापक्रम १२ र न्यूनतम तीनसम्म झरेको छ । उपमहानगरपालिकाले दाउरा दिएर आगो ताप्ने व्यवस्था मिलाउदा स्थानीय खुशी भएका छन् ।
चिसोमा अत्याधिक चिसो र गर्मीमा अत्याधिक गर्मी हुने नेपालगञ्जमा यसपाली पुस १ गतेदेखि नै चिसो भएको छ ।
यसैबीच, डुडुवा गाउँपालिकाले पनि दाउरा वितरण गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !