खोप छ, सिरिन्ज छैन

नेपालगञ्ज – बाँकेमा खोपको मात्रा भन्दा कम सिरिन्ज आएको छ । स्वास्थ्य कार्यालय, बाँकेले सिरिन्ज कम आउदा समस्या भएको बताएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले खोपको मात्रा भन्दा ११ हजार सिरिन्ज कम आएको जानकारी दिनुभयो । ‘खोपको मात्राजति नै सिरिन्ज आउनु पथ्र्यो । खोपको मात्रा भन्दा ११ हजार सिरिन्ज कम आएको छ, कार्यालय प्रमुख शाहले भन्नुभयो, केही दिनमै सिरिन्ज आएन भने खोप लगाउनै समस्या हुन सक्छ ।’
खोप पठाइदिने, सिरिन्ज नपठाउने कार्यले खोप अभियानलाई प्रभावित पारेको छ । केही दिनमै सिरिन्ज आएन भने खोप लगाउन बन्द हुने अवस्था आएको छ । सिरिन्जको चरम अभाव भएपछि स्वास्थ्य कार्यालय, बाँकेका खोप अधिकृत नरेश श्रेष्ठ र जनक गिरीले प्रदेशमा गएर तीन हजार ६ सय सिरिन्ज बोकेर आएका थिए । स्वास्थ्य कार्यालये बढीमा हप्ता दिनभित्र सिरिन्ज नआएमा समस्या हुने जनाएको छ ।
सरकारले सबै नागरिकलाई खोप लगाउने अभियान चलाएको छ । खोपको मात्रा बढाउनकै लागि सार्वजनिक स्थलमा जादा खोप कार्ड देखाउनु पर्ने भनिएको छ । एकातिर खोपको कभरेज बढाउने अभियान चलाएको सरकारले अर्कोतिर सिरिन्ज पु¥याउन सकेको छैन ।
स्वास्थ्य कार्यालय, बाँकेका खोप अधिकृत नरेश श्रेष्ठका अनुसार, बाँकेमा ८२ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने ५४ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । चार हजार चार सय ८० जनाले बुष्टरमात्रा लगाएका छन् । खोप लगाउने उमेर समूहका चार लाखमध्ये अझै ७० हजार ५ सय ४८ जनाले एउटा पनि खोप लगाएका छैनन् ।
बाँकेको नरैनापुरमा खोपको कभरेज सबै भन्दा कम २७ प्रतिशत रहेको छ । राप्तीसोनारी, बैजनाथ, डुडुवा र जानकी गाउँपालिकामा पनि खोपको कभरेज कम नै रहेको छ । खोपको कभरेज कम भएका पालिकामा विशेष फोकस गर्ने तयारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले खोपको कभरेज भएको बस्ती, टोल, समुदायमा विशेष फोकस गरेर घरघरमै पुगेर खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ । ‘कोरोनाको औषधी भनेकै खोप हो । सबै नागरिकलाई खोप लगाउनु पर्छ । अहिलेसम्म कहाँ, कुन समुदाय, बस्तीमा कम खोप लगाएको छ, त्यहाँ घरघरमै गएर खोप लगाउने व्यवस्था गर्नुस्, प्रजिअ खत्रीले स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख शाहलाई निर्देशन दिनुभयो ।
स्वास्थ्य कार्यालय, बाँकेले १४ गतेपछि खोप कम लगाएको बस्तीमा पुगेर खोप लगाउने तयारी गरेको छ । त्यसकै लागि स्वास्थ्य कार्यालयका प्रमुख शाहलगायतको टोली नरैनापुरमा पुगेको छ ।
स्वास्थ्य कार्यालयले अबदेखि भेरोसेल लगाउन बन्द गर्ने जनाएको छ । ‘अब हामी भेरोसेलको पहिलो डोज दिदैनौ, खोप अधिकृत श्रेष्ठले भन्नुभयो, नाकामा होस् या अन्य कोभिशिल्ड नै लगाउने धेरै छन् ।’
सीमावर्ती जिल्ला भएकाले बाँके कोरोनाको दोहोरो चपेटामा पर्ने गर्दछ । एउटा यही संक्रमित बढ्दै छन् भने अर्को भारतबाट आउनेमा संक्रमण बढ्दो छ । कोरोना शुरु भएदेखि बाँके जिल्ला शून्यमा झरेको छैन । शून्यको नजिक पुगिसकेको बाँकेमा फेरि संक्रमितको संख्या उकालो लागेको छ ।


error: यो सुविधा उपलब्ध छैन !