विमानस्थल आसपासको झाडी फडानी
नेपालगञ्ज – नेपालगञ्ज विमानस्थल आसपासको झाडी फडानी गरिएको छ ।
झाडीमा रहेका जंगली जनावर धावनमार्गमा आएर जहाजसँग ठोकिने गरेपछि विमानस्थल कार्यालयले झाडी फडानी गरेको हो ।
नेपालगञ्ज विमानस्थलका प्रमुख सुभाष झाले विमानस्थलको एक सय ७५ विगाह जमिनमध्ये सय विगाहमा रहेको झाडी फडानी गरिएको बताउनुभयो । विमानस्थलले आफ्नो क्षेत्रमा तारबार गरेपनि स्थानीयले घाँस र दाउराका लागि तारजाली काटिदिने भएकाले त्यहीबाट जंगली जनावर विमानस्थलभित्र प्रवेश गरेको पाइएको छ । पछिल्लो तीन हप्तामा ९० प्रतिशत झाडी सफा गरेको विमानस्थल प्रमुख झाले बताउनुभयो ।
शनिबार प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, एसपीत्रय श्यामकृष्ण अधिकारी, अशोक बम र नरेन्द्र गिरीले विमानस्थलको निरीक्षण गर्नु भएको छ । विमानस्थलको झाडी सफाई गर्नका लागि केन्द्रमा बजेट माग गरेपनि अहिलेसम्म प्राप्त भएको छैन ।
अनावश्यक मानिसलाई विमानस्थल परिसरमा प्रवेश हुन नदिन विमानस्थलका विभिन्न सेन्ट्री पोष्टमा प्रहरी राखिने भएको छ । एसपी श्यामकृष्ण अधिकारीले शनिबार नै तीन जना प्रहरी पठाइदिने आश्वासन दिनु भएको छ ।
विमानस्थल आसपासमा ठूलो झाडी रहेको र त्यहाँ रहेका जंगली जनावर बँदेल धावनमार्गमा आएर जहाजसँग ठोकिने गरेको छ । पछिल्लो डेढ महिनामा तीन वटा जहाजसँग बँदेल ठोकिएको छ । झाडी सरसफाईमा सुरक्षाकर्मीले सहयोग गरेका छन् ।