करोडौ लिएर मेनपावर सञ्चालक फरार
नेपालगञ्ज – नेपालगञ्ज जैसपुरका राजु पठानले क्रोसिया जानका लागि मेनपावर कम्पनीलाई ७ लाख ७० हजार रुपैया बुझाए । हेलो ह्युमन रिसोर्सेज कम्पनीका मार्केटिङ मेनेजर रविकुमार यादवले तीन महिनाभित्र क्रोसिया पठाइदिने विश्वास दिलाएपछि पठानले ऋण, सापट गरेर पैसा जुटाएका थिए ।
मेनपावर कम्पनीका मार्केटिङ मेनेजर यादवले तीन महिना भनेको मंसीरको २५ गते पुग्थ्यो । क्रोसिया जान पाउने भएकाले पठानको ढुकढुकी बढ्दै थियो । आफन्तीहरुमा पठान युरोपको राम्रो देश क्रोसिया जान थालेको हल्ला फैलिसकेको थियो । शुभकामनाहरु आउन थालिसकेको थियो ।
सबै कुरा सोचेजस्तो कहाँ हुँदोरहेछ र ? जसलाई विश्वास गरिएको थियो, उसले नै धोका दिएपछि । मंसीर १२ गतेदेखि मेनपावर कम्पनीका मार्केटिङ मेनेजर यादव ‘सम्पर्कविहीन’ भएपछि पठान छाँगाबाट खसेजस्तो भएका छन् ।
बाँके जानकीका समसुद्दिन खाँका तीन भाई पनि क्रोसिया जाने तयारीमा थिए । समसुद्दिन, निजामुद्दिन र मैनुदिनले जनही ८०÷८० हजार रुपैया बुझाएका थिए । कम्पनीले शुरुमा ८० हजार, जाने बेलामा एक लाख २० हजार दिनु पर्ने र पुगिसकेपछि २ लाख ३० हजार दिनु पर्ने भनेको थियो । समसुद्दिनको तीन भाईलाई पनि समयले साथ दिएन, ठग नै मेनपावर परेकाले ।
जानकीकै ओमकार हरिजनले ९५ हजार मेनपावरलाई बुझाएका थिए । मंसीर २० गते उडाउने बताइरहेको मेनपावर कम्पनीका मार्केटिङ मेनेजर यादव १२ गते देखि नै फरार रहेका छन् ।
पठान, समसुद्दिनका दाजुभाई, ओमकारलगायत ४० जना बढी युवा जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेर आफूहरु ठगिएको उजुरी गरेका छन् । १२ गते नै मेनेजर भागेपछि उनीहरु नेपालगञ्जको न्यूरोडमा रहेको मेनपावर कम्पनीको कार्यालयमा गएर त्यहाँ रहेका सबै जनाको पासपोर्ट लिएर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ५० जनाबढीको पासपोर्ट बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले प्रशासन हाताभित्र राखेर आफ्नो पासपोर्ट खोजेका थिए । धेरैजनाले आफ्नो पासपोर्टसमेत फेला पारेनन् । अरु व्यक्तिका पासपोर्ट पनि थिए ।
मेनपावरले कतिपयलाई तीन महिनाभित्र उडान भएन भने आफ्नो पैसा लिनु भनेर चेक पनि दिएको छ । ९५ हजार रुपैया बुझाएका ओमकार १२ गते नै मेनपावर कम्पनीका अधिकारी यादव फरार भएपछि तीन पटक बैंकमा पुगे । चेक साटिएन । ‘बैंकमा तीन पटक गए, ओमकारले भन्नुभयो, बैंकले पैसा छैन भन्दै फिर्ता पठाइरहेको छ ।’
जैसपुरका पठानले बाँकेका तीन सय बढी युवालाई मेनपावरले ठगेको बताउनुभयो । ‘हामी त ठगियौ । प्रहरीले मेनपावरका मान्छेलाई खोजेर हाम्रो पैसा फिर्ता गराइदिनु प¥यो, पठानले भन्नुभयो, आफन्ती र अरुसँग ऋण र सापट गरेर पैसा बुझाएका थियौ ।’
पीडितले मेनपावरका तीन जना तल्लोस्तरका कर्मचारीलाई समातेर जिल्ला प्रशासन कार्यालय पु¥याएका थिए । तीमध्येका आरिफ खानले कार्यालयका हाकिम यादव कहाँ भन्ने आफूहरुलाई थाहा नभएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय पुगेका पीडित र उनीहरुले त्यहाँ देखाएका पासपोर्ट हेर्दा मेनपावर कम्पनीले तीन सय बढीलाई ठगेको देखिन्छ । मेनपावर कम्पनीले करोडौ रुपैया ठगेर यादव फरार रहेका छन् । यादव कपिलबस्तुका हुन् कि रुपन्देहीका हुन् एकिन छैन । उनको नागरिकता नै दुई वटा रहेको पाइएको छ । एउटामा रविकुमार यादव बर्गेली रुपन्देही र अर्कोमा सुखनन्दन यादव शिवपुर कपिलबस्तु रहेको पाइएको छ ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मेनपावर कम्पनीको पदाधिकारीको खोजी भइरहेको जानकारी दिनुभयो । ‘हेलो ह्युमन रिसोर्सेजले धेरै जनालाई विदेश पठाइदिन्छु भनेर पैसा ठगेको पाइएको छ, उसलाई खोज्न मैले प्रहरीलाई निर्देशन दिइसकेको छु, प्रजिअ खत्रीले भन्नुभयो, उसलाई समातेर ल्याएपछि कति जना ठगिएका छन् । पत्ता लाग्छ ।’