रामघाट गोली काण्ड

राजा वीरेन्द्रको सक्रियतामा त्रिभुवन विश्वविद्यालयले राष्ट्रिय विकास सेवा (राविसे) प्रारम्भ गरेको थियो । जसमा विश्वविद्यालयमा एमए पढ्ने सबै विभागका विद्यार्थीलाई तोकेको क्षेत्रमा गएर १० महिना पढाउनु पथ्र्यो । यो अनिवार्य सेवा थियो । दोस्रो वर्षको परीक्षा दिएका विद्यार्थी आफूलाई पायक पर्ने ठाउँमा जान्थे । त्यसरी जानेमध्ये स्वास्थ्य वा अरू कुनै व्यक्तिगत कारण भए अस्पताल भएको ठाउँ वा पायक पर्ने ठाउँ रोज्थे । आफ्नो अनुकूलता र रुचि अनुसार ठाउँ रोज्थे ।
सम्बद्ध विभाग अनुसार राविसे जाने विद्यार्थीको लिस्ट सङ्कलन गरिन्थ्यो । उनीहरूलाई तीन महिने तालिम दिइन्थ्यो । सूर्यविनायक, बूढानीलकण्ठ, दक्षिणकालीतिर राखेर तालिम दिइन्थ्यो । त्यो अनुशासित र व्यवस्थित तालिम भएकाले ‘आर्मी तालिम’ झै हुन्छ भन्थे । बिहान ५ बजे उठ्ने, पिटी खेल्ने । जङ्गलमा लगेर स्काउट गराउँथ्यो । स्वास्थ्यसम्बन्धी तालिम दिइन्थ्यो । तालिमपछि आवश्यक सामान लिएर तोकिएको ठाउँमा पठाउँथ्यो । बस पुग्ने ठाउँमा बसबाट पठाइन्थ्यो, जहाजको सुविधा भएको ठाउँमा जहाजबाट ।
हामी १८ जनाको टोली जहाजबाट नेपालगन्ज आयौँ । त्यतिबेला खजुरामा एयरपोर्ट थियो । खजुरामा झ¥यौँ । खजुरा अहिलेको जस्तो विकसित थिएन । फुसका घरहरू थिए । सडकका दुवैतिर घुम्ती पसलहरू प्रशस्त देखिन्थे । सडकको दक्षिणतिर एक–दुईवटा मात्र पक्की घर थिए ।
नेपालगन्ज बस्ने ६ जना थिए । उनीहरू खजुराबाट टाँगामा नेपालगन्ज आउँथे । बाटो इँटा छापेको र धेरै ठाउँमा धूलैधूलो थियो । टाँगामा पनि कोचिएर आउनु पथ्र्यो । किरणनाला आसपासमा सानो जङ्गल नै थियो । त्यहाँ बेलका रुखहरू टन्नै थिए । जङ्गल भएकाले त्यहाँ डाँका लाग्ने डर हुन्थ्यो । डाँकाबाट जोगिन खजुराबाट नेपालगन्ज आउँदा टाँगावालाहरू एकैपटक लस्कर लगाएर आउँथे । मलगायत १२ जना साथीहरू सुर्खेत लाग्यौँ । हामी खजुराबाट पनि जहाजमै सुर्खेत गयौँ । आठ जना सुर्खेतका लागि थिए । चार जना दैलेख जाने तय भएको थियो । काठमाडौँबाट एक जना सुपरभाइजर सँगसँगै आउँथे । उनले हामीलाई जिल्ला शिक्षा अधिकारीको जिम्मा लगाउँथे । त्यतिबेला त राविसे भनेपछि चल्ताफुर्जा मानिन्थे । जिल्लामा ठूलाबडाका बीचमा परिचयात्मक कार्यक्रम हुन्थ्यो । विषय हेरेर जिल्ला शिक्षा कार्यालयले उनीहरूलाई कहाँ पठाउने निर्णय गथ्र्यो । विषय अनुसार शिक्षक खटाउँथ्यो । विज्ञान, गणित र अङ्ग्रेजी पढाउने शिक्षकको माग ज्यादा थियो ।
सुर्खेतमा त्यतिबेला दुर्गानाथ गौतम सहायक जिल्ला शिक्षा अधिकारी थिए । जनार्दन नेपाल जिल्ला शिक्षा अधिकारी थिए । त्यतिबेला मैले चिनेका दुर्गानाथ र बसोबास कम्पनीको हाकिम विष्णु पन्त थिए । उनी पनि वामपन्थी पृष्ठभूमिका थिए ।
हामी ६÷७ दिन वीरेन्द्रनगरमा बस्यौँ । त्यतिबेला एयरपोर्टबाट वीरेन्द्रनगर जान केही साधन पाइँदैनथ्यो । आफ्नो सामान बोकेर हिँड्नु पथ्र्यो । हाइस्कुलको भवनमा हामीलाई राखिएको थियो । हामीसँगै दुई जना केटी साथी पनि थिए । उनीहरूलाई महिला विकास कार्यालयमा राखियो । वीरेन्द्रनगरमा बजार बसेको थिएन । एयरपोर्टतिर प्रशस्त ठाउँ खाली थियो । अहिले बजार भएको ठाउँमा गगन भन्ने व्यक्तिको ठूलो घर थियो । अरू ससाना घरहरू मात्र थिए । सामान्य किसिमको बसोबास गर्ने गाउँजस्तो थियो । बाटो बन्दै थियो । छिन्चुदेखि यतातिर हाइवे निर्माण हुँदै थियो । बबईमा पुल पनि बनिसकेको थिएन । सुर्खेत एउटा सानो बजार मात्र थियो । राजाको एक–दुईपटक सवारी भइसकेकाले विकासका योजनाहरू बन्दै थिए ।
हामीलाई राजनीतिले छोएको थियो । त्यसभन्दा धेरै जिल्ला–जिल्लामा राजनीतिक आँखाले हेरिँदो रहेछ । हरेक व्यक्तिको राजनीतिक पृष्ठभूमि हेरिँदो रहेछ । पछि मलाई दुर्गानाथले सुनाउँथे, सुर्खेतका सीडीओ टेकबहादुर खत्रीले मलाई वीरेन्द्रनगरमा राख्न खोजेका थिए रे ! तर, वीरेन्द्रनगरमा बस्न मानिनँ । त्यतिबेला गुजारा भत्ता भनेर ३ सय २० रूपैयाँ दिइन्थ्यो । यतिले बजारमा खान बस्न पुग्दैन भन्ने मलाई लाग्यो । अर्को कुरा, सहरमा भन्दा गाउँतिर बस्दा राजनीतिक गतिविधि पनि गर्न पाइन्थ्यो । जता गए पनि पार्टीको राम्रो काम गर्ने निर्देशन दिइएको थियो ।
म र साथी सलाउद्दिन खाँ रामघाटमा खटियौँ । कुमार पोखरेल र अर्का साथी गुमी गए । कुमार नेपाल बैंक लिमिटेडका कर्मचारी थिए । छुट्टीमा पढ्न आएका थिए । राजनीतिमा खासै चासो थिएन । मसँग बस्ने खाँ पनि राजनीतिप्रति चासो राख्दैनथे । उनले भारतबाट एमए गरेका थिए । एमए गरेकालाई अनिवार्य राविसे गर्नैपर्ने भएकाले उनी आएका थिए ।
विज्ञान शिक्षण पृष्ठभूमि भएकाले रामघाटमा मेरो माग धेरै थियो । त्यतिबेला रामघाटमा दुई–चारवटा घरहरू थिए । कृषि विकास बैंक थियो, कृषि फार्म थियो । रामघाटको जीवनज्योति मावि (पछि शारदा निमावि बन्यो) मा मैले पढाउन थालेँ । विद्यालयका प्रधानाध्यापक थिए, भानु शर्मा । स्कुलमा दुई–अढाइ सय विद्यार्थी थिए । म होटलमा खान्थेँ, भानुकै घरमा बस्थेँ । जिल्ला पञ्चायतका सभापति तुलसीराम शर्मा (पौडेल) थिए । उनका छोरा रामे भन्ने परशुराम पौडेल कक्षा ६ मा पढ्थे । जिल्ला सभापतिले आफ्ना छोरामार्फत हाम्रो गतिविधि बुण्दा रहेछन् । मैले डेरामा बिहान–बिहान र शनिबार ट्युसन पनि पढाउन थालेको थिएँ । यसबाट मेरो जनसम्पर्क बढेको थियो । मैले तीन महिनाजति रामघाटमा पढाएँ । कृषि फार्ममा तेजप्रसाद गिरी हाकिम थिए । उनले पनि हाम्रो निगरानी गरिरहँदा रहेछन् । झोलुङ्गे पारितिर सानो प्रहरी चौकी थियो । उनीहरूले त्यहाँ मेरो रिपोर्ट गर्दा रहेछन् । छुट्टीको दिन म पारि गएर बस्थेँ । छिन्चु जान्थेँ । भेटघाट र गफगाफ गर्थें । बिस्तारै स्थानीयले मलाई चिन्दै गए, मन पराउन थाले । मलाई राविसे माड‘साप भन्थे । म त्यही नामबाट चिनिएको थिएँ । मसँग सिटामोल, जुकाको औषधि, प्लास्टर बाँधिदिने, टिन्चर आदि प्राथमिक उपचारका औषधिहरू हुन्थे । गाउँका मान्छे खेत जोत्दा हलोको फालीले खुट्टा काटे, घाँस काट्दा हँसियाले हात काट्यो भने औषधि खोज्दै मकहाँ आउन थालेका थिए । मकहाँ भएसम्म औषधि लगाइदिन्थेँ । गाउँमा कसैलाई ज्वरो आए सिटामोल खोज्दै आउँथे । यसले गर्दा स्थानीयबीच हामी भावनात्मक रूपमा नजिकिएका थियौँ । एकखाले आत्मीय सम्बन्ध बनेको थियो ।
यही समयमा पाकिस्तानमा जुल्फीकर अलि भुट्टोलाई फाँसी दिइयो । त्यसको काठमाडौँमा चर्को विरोध भइरहेको थियो । बाहिर भुट्टोको मृत्युदण्डको विषय देखाइए पनि भित्रभित्रै पञ्चायती व्यवस्था परिवर्तनको आन्दोलन चर्किंदै थियो । काठमाडौँमा मात्रै होइन, बाहिर पनि आन्दोलन हुन थालेका थिए । रामघाटमा वामपन्थीको बाक्लो बसोबास थियो । २०३५ चैत ११ मा रामघाटमा पहिलोपल्ट जुलुस निस्कियो । भोलिपल्ट पनि उसैगरी जुलुस निस्कियो । टीकाराम शर्मा आचार्यलाई आन्दोेलनको संयोजन गर्ने जिम्मेवारी दिइएको थियो । चैत १५ गते गोकर्ण खड्काको नेतृत्वमा जुलुस निस्कियो । केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेकाले उनीहरूलाई छुटाउन जुलुस प्रहरी चौकीतिर अघि बढ्यो । जुलुसमा भाग लिन गुमीबाट ठूलो सङ्ख्याका मानिसहरू आएका थिए । विद्यार्थी र शिक्षकलाई पनि अघिल्लै दिन खबर भइसकेको थियो । गुमीबाट आएका व्यक्तिले रुमालमा रोटी र नुन लिएर आएका थिए । उनीहरू वीरेन्द्रनगरसम्म जाने उद्देश्यका साथ भेला भएका थिए ।
ठूलो जुलुस आएपछि चौकीका प्रहरी भागे । पछि वीरेन्द्रनगरबाट सीडीओले थप टोली पठाए । थप टोलीले जुलुसलाई तितरबितर ग¥यो । गगन खड्का भन्ने असईको टोलीले गोली चलायो । सात जनाको मृत्यु भयो । त्यो घटनामा चोल्पाका इन्द्र वीसी, लेकफर्साका किसान ब्रह्मदत्त, लालवीर टमटा, नेउले कामी, बहादुर लाउने, कर्णबहादुर खत्री पौडेल र रामघाटका हस्तबहादुर सार्कीको मृत्यु भएको थियो । त्यो आन्दोलनमा शिक्षकहरू यज्ञबहादुर रेग्मी, गोविन्दबहादुर जीसी, भक्तबहादुर घर्ती, शिखर प्रावि, रामघाटका प्रधानध्यापक टीकाराम आचार्य, भक्तबहादुर ग्यामी, नरबहादुर थापा, तुलसीप्रसाद आचार्य, बेलबहादुर प्रदीप्त, विद्यार्थी नेताहरू हषीवीर देवकोटा, दण्डपाणि आचार्य, टीकाराम सुवेदी, अभिभावकहरू गोकर्ण खड्का, लालबहादुर रेग्मी, छविलाल वली, स्कुलका कर्मचारी समरबहादुर थापा, भीमराज पैगाली, कृषि विकास बैंकका कर्मचारी गङ्गासिंह सिजाती अगुवा थिए ।
जुलुस तितरबितर भएर दौडादौड चल्दा प्रहरीले गोली हानेको थियो । जुलुस तितरबितर भएपछि म कोठामा आइसकेको थिएँ । कोठानजिकै डिलमा गोली लागेका मान्छे लडिरहेका मैले देखेँ । उनी माड’साप पानी–पानी भनेर चिच्याइरहेका थिए । उनलाई ब्यान्डेज बाँधिदिन म निस्किएको थिएँ । गोली निकाल्न त कहाँ सक्थँे र ? रगत बगेको ठाउँमा मल्हमपट्टी गरिदिएँ ।
अर्को दिन सीडीओ र प्रहरी अधिकृतहरू रामघाट आए । म कोठामा रेडियो सुन्दै थिएँ । बाहिर निस्किन भनियो । म निस्किएपछि कोठामा ताला लगाउन भने । र, मलाई प्रहरीले नियन्त्रणमा लिए । मेरा साथी भने भागे ।
मलाई कृषि फार्मको गोदाममा लगियो । एकपछि अर्को गर्दै त्यहाँ २०÷२५ जनालाई ल्याइयो । सबैलाई एकै ठाउँमा हुलियो । दुई छाक खाना पनि दिइएन । झ्यालबाट पिसाब फेर्न लगाउँथे । पछि पिसाब फेर्न बाहिर निस्किन दिन थालियो । सबै एउटै कोठामा थिए तर एकअर्काको मुख हेर्न पाइँदैनथ्यो । कसैको मुखमा हेर्न दिँदैनथ्यो । पाँच दिनपछि राती सुर्खेततिर हिँडाइयो । भेरीको किनारैकिनार प्रहरीले गाली गर्दै हामीलाई हिँडाए ।
रातमा त्यसरी नदीको बाटो हिडाउँदा भित्रभित्रै म डराएको थिएँ । कतै मारेर भेरीमा फालिदिन्छन् कि भन्ने भय मनमा थियो । रातको एक–दुई बजेतिर चिङगाडमा पु¥याइयो, त्यहाँ खोला छ । नजिकै चियानास्ता खाने ठाउँ थियो । प्रहरीले राती त्यहीँ बसायो । हत्कडी खोलिदियो, दही र केरा मगाएर खान दियो । यसपछि बल्ल अब मार्दैनन् भनेर म ढुक्क भएँ । खोला तरेर झिसमिसेमा धुल्यापीठ पु¥यायो । त्यहाँबाट वीरेन्द्रनगर देखिन्थ्यो । वीरेन्द्रनगर लगेर हामीलाई चौकीमा हुल्यो ।
रामघाटको गोली काण्डको चर्चा सर्वत्र भइसकेको थियो । पक्राउ अरू पनि परेका थिए तर मलाई हेर्न आउनेको ठूलै भीड लागेको थियो । गाउँमा माडसाब थिएँ, त्यहाँ माले नेताका रूपमा मान्छेहरू हेर्न आउँथे । झापा सशस्त्र सङ्घर्षको चर्चा देशभर थियो । झापामा कम्युनिस्टले जमिनदारका टाउको काटे भनेर मालेको चर्चा थियो । मलाई रामघाट काण्डको नाइके भनेर प्रचार गरिएको रहेछ । राघव राणा भन्ने प्रहरी निरीक्षक थिए । एक रात चौकीमा राखेपछि मलाई एसपी कार्यालयमा लगियो । त्यहीँ पुर्जी लेख्ने काम भयो । सीडीओ पनि आएका थिए । उनीहरूले धेरै केरकार गरे । मैले नढाँटी घटनाको वास्तविकता बताएँ । तर, उनीहरूले मेरै कारण घटना भएको भन्दै दोषी करार गरेर मलाई जेलमा पठाए ।

(क्रियटिभ बुक्सले प्रकाशन गरेको प्रा. डा. जनार्दन आचार्यको ‘मेरो आदर्श, मेरो विश्वास’ पुस्तकबाट । पढ्न इच्छुकले ९८५१०९३२३४ सम्पर्क गर्न सक्नु हुन्छ ।)


error: यो सुविधा उपलब्ध छैन !