एम्बुलेन्स खरिदका लागि डा. श्रेष्ठ दम्पतिद्वारा ५१ हजार सहयोग

नेपालगञ्ज – नेपाल पत्रकार महासंघ, बाँके शाखाको एम्बुलेन्स खरिद अभियानमा विभिन्न व्यक्तिगत तथा संस्थागत दाताहरुबाट सहयोग संकलन कार्य जारी छ । सोही क्रममा नेपाल पत्रकार महासंघ, बाँकेको पत्रकारहरुका लागि एम्बुलेन्स कार्यक्रमका लागि हाल बेलायतका बस्ने नेपालगञ्ज निवासी चिकित्सक दम्पतिले सहयोग गरेका छन् ।
महासंघले शुक्रबार आयोजना गरेको एक कार्यक्रम वीच वरिष्ठ सर्जन डा. रामकुमार श्रेष्ठ र स्त्री रोग विशेषज्ञ डा. निर्मला श्रेष्ठले वरिष्ठ पत्रकार पूर्णलाल चुकेमार्फत् ५१ हजार एक सय एकको चेक एम्बुलेन्स खरिद गर्नका लागि सहयोग स्वरुप महासंघका अध्यक्ष दामोदर भण्डारीलाई हस्तान्तरण गर्नु भएको छ । सो अवसरमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, महासंघका अन्य पदाधिकारी तथा पत्रकारहरुको उपस्थिति थियो ।
महासंघका शाखा सचिव कमल डाँगीका अनुसार कोरोना महामारीलाई लक्षित गर्दै महासंघले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने र एम्बुलेन्स खरिदका लागि आवश्यक सहयोग गर्न महासंघले सार्वजनिक रुपमा आव्हान समेत गरेको थियो । सोही अभियान अन्तर्गत देश तथा विदेशबाट सहयोग रकम प्राप्त हुने क्रम बढेको पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनु भयो ।
कोरोना महामारीलाई मध्यनजर गर्दै पत्रकारका लागि निःशुल्क र आमनागरिकलाई सशुल्क सर्वसुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी भइरहेको एम्बुलेन्स खरिदका लागि गठित आर्थिक व्यवस्थापन समितिका संयोजक महासंघका उपाध्यक्ष संगीन शर्माले जानकारी दिनुभयो । महासंघले एम्बुलेन्स खरीदको प्रक्रिया अगाडी बढाएको छ । एम्बुलेन्स खरीद पछि सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी महासंघ बाँके शाखाले आफै गर्नेछ ।


error: यो सुविधा उपलब्ध छैन !