रोयलको फराकिलो जीत
नेपालगञ्ज – नेपालगञ्ज रंगशालामा एक लाखबढी पुरस्कार राशीको फुटबल प्रतियोगिता शुरु भएको छ ।
रोयल नेपालगञ्ज फुटबल क्लवले यहाँका १४ वटा टीमलाई सहभागी गराएर फुटबल प्रतियोगिता शुरु गरेको हो । पछिल्लो दुई वर्षपछि पहिलो पटक रंगशालामा क्लवस्तरीय फुटबल प्रतियोगिता भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रोयल नेपालगञ्ज फुटबल क्लव विजयी भएको छ । रोयलले हसनापुरको सनलाइट युथ क्लवलाई ७–१ गोलले पराजित गरेको हो । पहिलो गोल भने सनलाइटले गरेको थियो ।
खेल शुरु भएको ६ मिनेटमै सनलाइटका कृष्ण खड्काले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।
रोयलले ३२ मिनेटमा बराबरी गोल ग¥यो । रोयलका विशाल थापाले पहिलो गोल गरेका थिए । ४० मिनेटमा विशालले नै अर्को थपे ।
मध्यान्तरसम्ममा २–१ गोलले अग्रता लिएको रोयलले त्यसपछि पाँच गोल थप्यो । रोयलका भुपेन्द्र शाहीले ५९ र ७६ मिनेट, बिभुषण केसीले ६४ र ६५ मिनेट, प्रकाश बुढाथोकीले ६१ मिनेटमा गोल गरेका थिए ।
खेलमा रोयलका विशाल थापा म्यान अफ द म्याच भए । उनलाई क्लवका उपाध्यक्ष माधव अर्यालले पुरस्कृत गरे ।
खेलको उद्घाटन लुम्बिनी प्रदेशका सांसद एवं ओलम्पियन सुरेन्द्र हमालले रेफ्री अमर घलेलाई बल हस्तान्तरण गरेर गरे । त्यसअघि बोल्दै सांसद हमालले खेलको विकासका लागि प्रतियोगिताहरु निरन्तर हुनु पर्ने बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आधुनिक रंगशाला रहेको नेपालगञ्जमा नियमित अभ्यास हुन सकेमा फुटबल खेलको विकास हुने बताए । रोयलका अध्यक्ष सूर्यमणि अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रोयलका महासचिव दीर्घराज आचार्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन प्रियास्मृति ढकालले गरेका थिए । उद्घाटन समारोहमा बाँकेका प्रहरी प्रमुखहरु श्यामकृष्ण अधिकारी, अशोक बम, नरेन्द्र गिरी, नेपाली सेनाका मेजरद्वय कपुर सिंह र दिप श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्द, एन्फाका पूर्वउपाध्यक्ष गोवद्र्धन सिंह सम्झना, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्ण श्रेष्ठ, ब्याडमिन्टन संघका सञ्जय थापा, एन्फा बाँकेका कोषाध्यक्ष वीरेन्द्र श्रेष्ठ, क्लवका सल्लाहकार किसन गुरुङलगायतको उपस्थिति रहेको थियो ।
२१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई एक लाख एघार हजार एक सय एघार रुपैया र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ । शनिबार दिउँसो दुई बजे धम्बोझी क्लव र मोडल तथा चार बजे रेसिङ साहरा र न्यू भगवतीका बीचमा खेल हुनेछ ।