‘कालापहाडे’लाई पैसा जोगाउनै मुश्किल
नेपालगञ्ज – भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा काम गरेर फर्किने कालापहाडेलाई पैसा जोगाउन नै मुश्किल हुने गरेको छ । दुःख गरेर कमाएको रकम घरसम्म पु¥याउन हम्मे–हम्मे हुने गरेको छ ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाका ठूलो संख्याका मानिसहरु मौसमी काममा कालापहाड पुग्छन् । नेपालीको पहाड चाड दशै नजिकिएसँगै उनीहरु घर फर्किरहेका छन् । बडो मुश्किलले मजदुरी गरेर कमाएको रकम घरसम्म पु¥याउन कालापहाडेलाई धौ–धौ हुने गर्दछ ।
कालापहाड, सिमला, प्रयागबाट आउदा बसमै लुटिने डर हुन्छ । अपरिचित व्यक्तिले परिचित हुन खोजेर कतिपयलाई नसालु पदार्थ सेवन गराएर लुट्ने गर्दछन् । पछिल्लो केही वर्षयता यो क्रम केही रोकिएको छ ।
सीमावर्ती बजार रुपैडिहामा झरेपछि रिक्सावालाले तानातान गर्छन् । अलिकति यता आएपछि भारतीय प्रहरी र कष्टम अधिकारीले गोजीमै हात हालेर पैसा झिकिदिन्छन् । पैसा दिन अनाकाना गर्नेलाई कार्यालयभित्र लगेर घण्टौसम्म रोकिदिने गरिन्छ । त्यहाँबाट उम्किएर आएका कालापहाडेलाई नेपाली नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले असुली गर्छन् । नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीका बीचमा कालापहाडेसँग पैसा असुल्ने प्रतिस्पर्धा नै हुन्छ । एउटै झोला सबैले खोतल्छन् । ठूलो पोका बोकेकालाई पैसा नदिएसम्म अगाडि बढ्न दिदैनन् । भारी बोकेर पसिना पसिना भइरहेका उनीहरुलाई सय रुपैया नझारेसम्म उभ्याइन्छ । बाध्य भएर सय रुपैया दिएपछि अगाडि बढ्न दिइन्छ । यी वैधानिक असुली केन्द्रबाट बचेपछि कालापहाडेलाई फेरि नेपालगञ्जसम्म पु¥याउन रिक्सा चालकले तानातान गर्छन् । रिक्साचालकसँग होटल सञ्चालक मिलेका हुन्छन् । कतिपय होटल सञ्चालक नाकामै पुग्छन् । नाकामा नपुगेकाहरुले पनि रिक्सा चालकसँग मिलेर कालापहाडेलाई आफ्नो होटलमा ल्याउन लगाउँछन् । पाइलै–पाइलामा ठगिएर कालापहाडे नेपालगञ्ज बसपार्कदेखि गन्तब्यतिर लाग्छन् ।
कालापहाड, सिमला, प्रयागमा स्याउ बोकेर, सडकमा मजदुरी गरेको कमाई घरमा पु¥याएर परिवारसम्म हाँसीखुशी साट्न कालापहाडेलाई बडो कष्ट हुने गर्दछ । आफ्नो उत्पादनले वर्षभरी खाना नपुग्ने कर्णाली प्रदेशका कालिकोट, जाजरकोट, दैलेख, रुकुम, रोल्पा, सल्यानका मानिसहरु कालापहाड जाने गर्दछन् । खेतीबाली र चाडबाड मनाउन आउने उनीहरु अरुबेला काममा जाने गर्दछन् । उनीहरुको भारत प्रवेश र फिर्ती हुने नाका नेपालगञ्ज नै हो ।
बाँके प्रहरीले कालापहाडेबाट पैसा असुली रोक्न विभिन्न उपायहरु अवलम्बन गरेको छ । इलाका प्रहरी कार्यालय, जमुनाहाका १७ जना प्रहरी परिवर्तन गरेको छ । सशस्त्र प्रहरी र भन्सार कर्मचारी सुध्रिएमा कालापहाडे कम्तीमा आफ्नै देशमा लुटिनबाट जोगिने छन् ।