नेपालगञ्जमा पहिलो पटक सामुहिक गाईजात्रा

नेपालगञ्ज – नेपालगञ्जमा पहिलो पटक नेवार समुदायले सामुहिक रुपमा गाईजात्रा मनाएका छन् ।
‘भाषा, संस्कृति र परम्पराको जगेर्ना गरौं’ भन्ने मूल नाराका साथ नेवा पुचः, बाँके र नेवाः देय्ः दबु, बाँकेको आयोजनामा नेपालगञ्जमा तामझामका साथ गाईजात्रा गरिएको हो ।


नेपालगञ्जमा यसअघि व्यक्तिगत रुपमा घरघरबाट बागेश्वरी मन्दिरमा पुगेर विधिवत रुपमा गाईजात्रा मनाएर संस्कार पूरा गर्ने गरिन्थ्यो ।


नेवा पुचः, बाँकेका पार्षद पूर्णलाल चुकेका अनुसार, घरघरबाट व्यक्तिहरु बागेश्वरी मन्दिरमा आएर संस्कार पूरा गर्थे । यसपालीबाट सामुहिक रुपमा गाईजात्रा मनाउने शुरु गरिएको छ । गाईजात्रा दिवंगत आफन्तीको सम्झना मनाउने गरिन्छ ।


नेपालगञ्जको धम्बोझीचोकबाट झाँकी, बाजागाजासहित शुरु भएको गाईजात्रा सेतुविकचोक, त्रिवेणीमोड, घरबारीटोल हुँदै बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कमा पुगेको थियो ।


बाँकेमा रहेका ६ वटा गुठीका प्रतिनिधि गाईजात्रामा सहभागी थिए । नेवा पुचः, बाँकेका अध्यक्ष नन्दकला श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, जितेन्द्र जोशी, विवेक श्रेष्ठले गाईजात्रालाई आगामी दिनमा पर्वको रुपमा अघि बढाउने बताउनु भयो । ‘हामी गाईजात्रालाई एउटा पर्वको रुपमा विकास गर्ने सोचमा छौं, उद्योगी नेतासमेत रहेका कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, पर्वको रुपमा मनाइयो भने यो कुनै जाती विशेष चाड रहदैन ।’


राजा प्रताप मल्लले छोराको मृत्युपछि शोकमा रहेकी रानीलाई खुशी बनाउनका लागि गाईजात्राको शुरुवात गरेको जनविश्वास रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !