शिक्षक संघको राप्तीसोनारीमा दश बुँदे माग

नेपालगञ्ज – नेपाल शिक्षक संघले राप्तीसोनारी गाउँपालिका स्तरीय शिक्षक कर्मचारी भेला आयोजना गरेको छ ।
नेपाल शिक्षक संघ, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर ऐरीको अध्यक्षतामा भएको भेलामा गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, नेपाल शिक्षक संघ, बाँकेका अध्यक्ष विरेन्द्र यादव, नेपाल शिक्षक महासंघ, बाँकेका अध्यक्ष पवन यादवको विशेष उपस्थिति रहेको थियो ।
गाउँपालिकाका अध्यक्ष थारुले पालिकाले शिक्षा क्षेत्रमा ५ करोड बढी बजेट विनियोजन गरेर शिक्षालाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले शिक्षालाई गुणस्तरीय बनाउन लागि परेको जानकारी दिदै एक सय ४९ जना शिक्षकलाई गाउँपालिकाले अनुदानमा राखेको जानकारी दिनुभयो ।
यसैबीच, नेपाल शिक्षक संघ, राप्तीसोनारीले गाउँपालिकालाई दश बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्रमा बाल विकास शिक्षक र विद्यालय कर्मचारीको संघीय सरकारले तोके बमोजिम न्यूनतम पारिश्रमिक १५ हजार हुनुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत मावि तहका कार्यालय सहायक लेखापालको हकमा कम्तीमा २० हजार पाँच सय तलव कायम गरियोस्, गाउँपालिकाको अनुदानमा नियुक्त भएका सम्पूर्ण शिक्षकको तहगत अनुसार प्राविमा १५ हजार, निमाविमा २० हजार र माविमा २५ हजार तलव कायम गरियोस्लगायतका माग उल्लेख गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !