कोरोनाबाट दुईको मृत्यु, २२ जना थपिए

नेपालगञ्ज – नेपालगञ्जमा उपचार गराइरहेका सुर्खेत र कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोडिभ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, सुर्खेतका ३९ वर्षीय पुरुष र कैलालीका २८ वर्षीय पुरुषको भेरी अस्पताल, नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।
साउन १७ गते सुर्खेतमा पीसीआर गरेका गुर्वाकोट नगरपालिका वडा नं. ५ का ३९ वर्षीय पुरुषलाई साउन २० भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा शुक्रबार दिउँसो १.२० बजे मृत्यु भएको छ ।
टीकापुर नगरपालिका वडा नं. १, कैलालीका २८ वर्षीय पुरुषलाई भदौ १ गते भेरीमा भर्ना गरिएको थियो । उनको भोलीपल्ट पीसीआर गरिएको थियो । उनको शुक्रबार विहान ८.३० बजे मृत्यु भएको फोकलपर्सन वलीले जानकारी दिनुभयो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या तीन सय ९० जना पुगेको छ ।
यसैबीच, बाँकेमा शुक्रबार २२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा एक सय ३७ जनाको परीक्षण गर्दा २२ जना थपिएका हुन् । २२ जनामा १० जना बाँके जिल्ला निवासी रहेका छन् । शुक्रबार ३ जना डिस्चार्ज भएका छन् । जिल्लामा अहिले एक सय ८३ जना सक्रिय संक्रमित रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !