बल्दैनन् सोलार, दुई वर्षदेखि भएनन् मर्मत

नेपालगञ्ज – नेपालगञ्जमा चारलेनको सडक बन्यो । राम्रो र फराकिलो सडकमा सोलर बत्ती जडान भए । रातीमा सडक झिलिमिलि भयो । सोलारको झिलिमिलिले नेपालगञ्जको गरिमा अझ बढायो, सुनमा सुगन्ध भनेझै ।
यो सुन्दर दृश्य र खुशी लामो समय टिकेन । जडान भएको वर्षदेखि सोलर बिग्रिन थाल्यो । त्यसको मर्मत नियमित हुन सकेन । नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर भुपेन्द्र बोहराले २०७५÷७६ मा केही मर्मत भएपनि त्यसपछि मर्मत हुन नसकेको बताउनुभयो । ‘दुई वर्षदेखि सोलार मर्मत नै हुन सकेको छैन । कति बल्छन् भन्ने पनि हामीलाई थाहा छैन, इन्जिनियर बोहराले भन्नुभयो, यसपाली मर्मत गर्ने तयारीमा छौं ।’
नेपालगञ्ज नाका जमुनाहादेखि कारकादोसम्म सोलार जडान गरिएको छ । सोलार जडान गर्दा नेपालगञ्जवासी जति खुशी थिए, अहिले त्यो भन्दा बढी दुःखी भएका छन् । सरसर्ती हेर्दा अहिले नेपालगञ्जमा २० प्रतिशत हाराहारीमा सोलार बलेको देखिन्छन् । धम्बोझीचोकदेखि वीपीचोकसम्म ३७ वटा सोलार छन् । त्यसमा ११ वटा मात्रै बल्छ । दुई वटा धिपिधिपि गर्छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडिका प्रायः सबै सोलार बल्दैनन् ।
सोलार बिग्रिरहन्छन् । त्यसलाई बेलाबेलामा मर्मत गरिरहनु पर्छ । नेपालगञ्ज उपहानगरपालिकाले दुई वर्षदेखि मर्मत नै गरेको छैन ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासन अधिकृत राजन केसीले यसपाली सोलार मर्मतका लागि १५ लाख रुपैया छुट्याएको बताउनुभयो । सोलारको गतवर्ष मर्मत गर्ने तयारी थियो । बजेट नहुँदा त्यो सम्भव भएन ।
नेपालगञ्जमा सडकमा हाइमास्ट लाइन पनि जडान गरिएको छ । बजार र चारलेन सडकका प्रायः सबै चोकमा हाइमास्ट बत्ती रहेको छ । चोकमा यसले उज्यालो दिने गरेको छ ।
सबैभन्दा दुःखको कुरा त नेपालगञ्ज उपमहानगरपालिकाले गरेका कामलाई ‘तन्दुरुन्त’ गरेको पाइदैन । जुन गतिमा नयाँ काम गरिन्छ, बिग्रेपछि त्यसलाई फर्केर हेरिदैन । सोलारको हकमा पनि त्यस्तै भएको छ । चारलेन सडकमा सोलार जडान गर्दा जनप्रतिनिधिहरु जति हाइहाइ भएका थिए । अहिले गालीको पात्र भएका छन् । जनप्रतिनिधिको त्यसतर्फ खासै ध्यान गएको देखिदैन । ठूलो लगानी गरेर काम शुरु गरिसकेपछि त्यसलाई जीवन्त राख्नु पर्छ । नयाँ–नयाँ काम गर्दै जाने र गरेका पुराना कामलाई मेटाउदै जाने प्रवृत्ति देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !