६५ को परीक्षण गर्दा चार जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा आइतबार ६५ जनाको परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएको छ । त्यसमा बाँकेका एकजना पनि छैनन् ।
कोहलपुर मेडिकल कलेजमा १६ जनाको जाँच गर्दा एकजनामा पनि कोरोना पुष्टि भएन । बागेश्वरी ल्याबमा ४९ जनाको परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएको छ । यो तथ्यांकले बाँकेमा कोरोना नियन्त्रणतर्फ गएको देखिन्छ ।
जिल्लामा अहिले सक्रिय संक्रमित ४७ जना रहेका छन् । अस्पतालहरुमा सिकिस्त १५ जना, मध्यम खालका २० जना र भेन्टिलेटरमा चार जना रहेका छन् ।
यसैबीच, बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका दुई जना कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु भएको छ । दैलेख डुंगेश्वर गाउँपालिका वडा नं. ६ का ७८ वर्षीय पुरुषको भेरीमा राती ११.३० बजे मृत्यु भएको छ । जेठ २७ गते भर्ना भएका उनको २८ गते पीसीआर गरिएको थियो ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का ६३ वर्षीया महिलाको विहान ११ बजे मृत्यु भएको छ । जेठ २३ गते पीसीआर गरिएका उनलाई असार ११ गते भेरीमा भर्ना गरिएको थियो ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा ३ सय ५८ जनाको मृत्यु भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !