यौन दुर्व्यवहारका तीन सय २९ घटना
नेपालगञ्ज – ५ नम्बर प्रदेशमा एक वर्षमा यौन दुव्र्यवहारका ३ सय २९ घटना रहेको बाहिर आएको छ । इन्सेकले निकालेको तथ्यांकमा त्यस्तो देखाइएको हो । यो प्रदेशमा अझै हत्या, गिरफ्तार, बलात्कारका घटना भइरहेको देखिएको छ ।
सन् २०१९ मा प्रदेश ५ को मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको तथ्यांकहरुले देखाएको छ । वर्ष पुस्तक प्रकाशनको तयारीमा रहेको इन्सेकले मंगलबार यहाँ आयोजना गरेको मानव अधिकारको अवस्था विषयक छलफलमा त्यस्तो तथ्यांक देखाइएको हो ।
यो वर्षमा राज्य पक्षबाट चार जनाको हत्या भएको छ । ७४ जना गिरफ्तारमा परेका छन् । बालिका बलात्कार, यौन दुव्र्यवहार २ सय ९, महिला बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहार १ सय २० छन् । यसमा तीन वटा राज्यबाट छन् । परिवारबाट नै १७ जनाको हत्या भएको छ । जातीय छुवाछुतमा ६, कथित बोक्सी आरोपमा चार, घरेलु हिंसा ७ सय ४९ रहेका छन् ।
इन्सेकका ५ नम्बर प्रदेशका संयोजक भोला महतले मानव अधिकारको अवस्था सन्तोषजनक नदेखिएको बताउदै कारागार बन्दी कोचाकोच रहेको, द्वन्द्वपीडितले न्याय नपाएको, शिक्षा, स्वास्थ्यमा सहज पहुँच पुग्न नसकेको बताउनुभयो ।
संघीय सांसद महेश्वर महतराजले कानून बनेर मात्रै समस्याको समाधान नहुने भन्दै कार्यान्वयनमा ध्यान दिनु पर्ने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, वारका उपाध्यक्ष सुनिल श्रेष्ठ, राष्ट्रिय मानव अधिकार, नेपालगञ्जका निर्देशक कृष्णचन्द्र चापागाई, डिएसपी शिवबहादुर सिंहले मानव अधिकारको सवालमा चर्चा गर्नु भएको थियो ।
अधिकारकर्मीहरु प्रकाश उपाध्याय, बसन्त गौतम, प्रभातसिंह ठकुरी, केशव कोइराला, कमला पन्त, विश्वजित तिवारीलगायतले स्थानीय निकायको बेतिथिहरुका बारेमा बोलेका थिए ।