खोपका लागि पहल गरिने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले छिटो भन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले सरकारले अनुमति दिएमा नगरबासीका लागि आवश्यक खोप खरिद गर्ने निर्णय गरेको छ । बैठकले हिमानी कोषले नेपालगञ्जकाल लागि आवश्यक जोनसन एण्ड जोनसन कम्पनीको खोप निशुल्क उपलब्ध गराउन प्रस्ताव गरे अनुसार सो प्रस्ताव स्वीकृति गर्ने निर्णय गरेको छ । हिमानी कोषले नेपालगञ्जका लागि आवश्यक खोप उपलब्ध गराउन सक्ने प्रस्ताव नेपालगञ्ज उपमहानगरपालिकालाई गरेको छ । नगर उपप्रमुख उमा थापा मगरका अनुसार छिटो भन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन उपमहानगरपालिकाले पहल गर्न थालेको हो ।
कोभिडविरुद्धको खोप अन्य संघ संस्थाले पनि उपलब्ध गराउन चाहेमा स्वीकृत दिने बैठकले निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार बैठकले सरकारलाई छिटो भन्दा छिटो कोभिडविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !