चिसोमा सडकमै योग
नेपालगञ्ज – कुहिरो लागेको छ । माथिबाट सिमसिमे पानी जसरी शीतका थोपा खसिरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको गेट अगाडि टेन्टभित्र केही मान्छे कहिले हाँसेका छन्, कहिले जोडले कराइरहेका छन् । नाँची रहेका छन् । सडकमा हिड्नेहरु रोकिएर हेर्दै फर्किरहेका छन् ।
नेपालगञ्जको चिसोमा विहानै सडकमा योग अभ्यास गराउदा यस्तो दृश्य देखिएको थियो । ५ औं राष्ट्रिय योग दिवसका अवसरमा बाँके आयुर्वेदिक स्वास्थ्य केन्द्रले नेपालगञ्ज उपमहानगरपालिकासँग मिलेर योग अभ्यास गराएको हो । योग गुरु गिरिराज शर्मा र हरपाल सिंहले उपस्थितलाई योग अभ्यास गराउनु भएको थियो ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले २०५५ सालदेखि आफूले योग गर्दै आएको बताउनुभयो । ‘मलाई सुगर च्यापिसकेको थियो । योगले अहिलेसम्म बचाउने काम गरेको छ, जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले भन्नुभयो, स्वास्थ्यका लागि सबैले योग गर्नुपर्छ ।’
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले नगरका हरेक वडामा योग तालिम दिएर नेपालगञ्जलाई योगमय बनाउने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, डा. सन्तोष शर्माले योगले जीवन बचाउने चर्चा गर्नुभयो । योग अभ्यासमा बाँके आयुर्वेदका डा. अनिलकुमार चौधरी, जयसपुर आयुर्वेदका विन्देश्वर साहु, ब्रजभुषण झालगायतको उपस्थिति रहेको थियो ।