डुडुवामा १६ बेडको आइसोलेसन केन्द्र निर्माण
डुडुवा – बाँके डुडुवा गाउँपालिकाले वडा नंंं. १, सन्तलिया गाउँस्थित बहुउद्देश्यीय भवनलाई १६ बेडको अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेको छ । कोभिडको संक्रमणबाट गम्भीर विरामीहरुको उपचार शुरु गर्ने गरी आइसोलेसन केन्द्र तयार पारिएको हो ।
आइसोलेसन केन्द्रमा अक्सिजन, अक्सिजन सक्सन कन्सन्टे«ड, अक्सिजन ऐलीडन्ट सक्सन मेसिन, अक्सीमिटर, स्वास्थ्य सरसफाईका सामाग्रीसहितको सुविधा सम्पन्न वार्ड तयार गरिएको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार, गाउँपालिकाभित्र कोभिड संक्रमणका विरामीलाई राखेर उपचार गरिनेछ भने उपचारका क्रममा विरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गरिनेछ ।
कोरोना संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारीका लागि स्वास्थ्यकर्मीद्वारा फोन र अनुगमन गर्ने कार्य भइरहेको छ । गाउँपालिकाले पीसीआर जाँचका लागि वार्ड नंं २ स्थित बेतहनी स्वास्थ्य चौकीमा स्वाब संकलन गरिरहेको छ ।
कोरोना संक्रमित विरामीहरुको उपचार सेवाका लागि स्वास्थ्यकर्मी, औषधी, आइसोलेसन वार्ड, स्वाब संकलन, हेल्थ डेक्स, एम्बुलेन्स लगायतका सेवा दिइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । कोरोनाको दोस्रो लहरबाट बच्न सबैले विशेष सावधानी अपनाई स्वास्थ्य सुरक्षाका सामाग्री अपनाएर घरभित्रै बस्न अध्यक्ष चौधरीले आग्रह गर्नुभएको छ ।
गाउँपालिकाले सिमानाका अन्र्तगत तीन वटा स्थानमा हेल्थ डेक्सको स्थापना गरि आवतजावत गर्ने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिरहेको छ ।